राप्रपाका पूर्वअध्यक्ष राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
शुक्रबार पार्टी एकता महाधिवेशनको उद्घाटनमा बोल्दै राणाले यस्तो भनेका हुन् ‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका छौँ, अब दुई र दुई मिलेर चार होइन, २२ बन्ने वेला आएको छ, यसका लागि हामी एक हुनुपर्छ । चुनाव जितेर सरकारमा जाने, तर संसद्मा उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाउने जस्तो व्यवहार अब कदापि नदेखाउँ ।’
राणालगत्तै बोलेका नेता चन्दले आरोपको खण्डन गरे । ‘म राणाजीको सहयोगमा प्रधानमन्त्री बनेको हुँ, तर उहाँ (राणा)ले आरोप लगाएजस्तो भएको म मान्दिनँ,’ चन्दले भने, ‘म चारपटक प्रधानमन्त्री भएँ । तपाईंहरूको आशीर्वाद पाए फेरि प्रधानमन्त्री बनुँला ।’