मोहम्मद नावी इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो अफगानी क्रिकेटर बन्न पुगेका छन्। उनलाई आइपिएलको सनराइजर्स हैदराबादले ३० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि नावीले यो मौका पाएका हुन्।
नावीको आधार मूल्य पनि ३० लाख नै थियो।
नाबीले सन् २०१३देखि २०१५सम्म अफगान टोलीको नेतृत्व गरेका थिए। डिभिजन ५ बाट अफगानिस्तानलाई इन्टरकन्टिनेन्टल कपसम्म पुर्याएको श्रेय उनलाई जान्छ।
सन् २०१४मा बंगलादेशमा भएको टी-२० विश्वकपमा उनले नै आफ्नो देशको नेतृत्व गरेका थिए। उक्त प्रतियोगितामा नेपालले अफगनिस्तानलाई ९ रनले हराएको थियो।
सन् २०१६को टी-२० विश्वकपमा उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
आइपिएलमा उनी अष्ट्रेलियाली क्रिकेटर डेविट वार्नरको कप्तानीमा रहेको हैदरावादका तर्फबाट खेल्नेछन्।
नावीसँगै यसपालि अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सहजादको पनि बोली लागेको थियो। उनको आधार मूल्य ५० लाख थियो। तर, कुनै पनि टिमले उनीप्रति रुची देखाएनन्। उनलाई अफगानी सहवागको उपनामले चिन्ने गरिन्छ।