पहिलो किस्ताको पचास हजार रुपैयाँ अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई घरको जग बनाइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चैत १५ सम्मको समयसीमा दिएको छ। विभिन्न अनुगमनमा पहिलो किस्ता लिएर घर नबनाउने धेरै पाइएकाले मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले चैत १५ सम्म प्रक्रिया पु¥याई दोस्रो किस्ताको रकम लिइसक्न भनेको हो।
‘पुस १५ सम्ममा पहिलो किस्ता लिएका धेरै मानिसले घर नबनाएको गुनासो सुनियो’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले सेतोपाटीसँग भने, ‘केही दिनअघि घर बनाउन अनुरोध गरेका थियौं। आज समय सीमा दिने निर्णय गरेका हौं।’
पहिलो किस्ताको ५० हजारले बनाएको घरको जग इन्जिनियरहरुले भूकम्पप्रतिरोधी छ भनी प्रमाणित गरेमा लाभग्राही दोस्रो किस्ताको १ लाख ५० हजारका लागि निवेदन दिन सक्छन्। प्राधिकरणले दोस्रो किस्ता दिन भूकम्पबाट अतिप्रभावित ११ जिल्ला विकास समितिमा १२ अर्ब रुपैयाँ पठाइसकेको छ।
गत वर्ष फागुन ३० गते दोलखाको सिंगटीबाट प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान दिन सुरु गरेको थियो। माघ मसान्तसम्म साढे चार लाखभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ताको रकम लिइसकेका छन्।
पहिलो किस्ताको रकम लिएर घर नबनाउने क्रम बढेपछि प्राधिरकणले त्यस्ता पीडितलाई कालोसूचीमा राख्ने र कानुनबमोजिम कारबाही गरिने बताउँदै आएको छ।