बार्सिलोनाका पूर्व स्टार खेलाडी हिस्टो स्ट्रोइचकोभले लिओनल मेसीको सम्झौताको विषयमा ठूलो दावी गरेका छन्। बुल्गेरियाका महान खेलाडी स्ट्रोइचकोभले बार्सिलोनाले ६ महिनाअघि नै मेसीको सम्झौता नवीकरण गरिसकेको दावी गरे।
स्पेनमा छापिने पत्रिका ‘स्पोर्ट्स’ ले मेसीको सम्झौताको विषयमा सोधेको प्रश्नमा उनले भने–‘मेसीले ६ महिनाअघि नै नवीकरण गरिसकेका छन्।’ इङ्लिस क्लब म्यानचेस्टर सिटीले मेसीको सम्झौताका लागि कीर्तिमानी रकम खर्चिने खबर बाहिर आइरहेको बेला स्ट्रोइचकोभको यस्तो दावी आएको हो।
उनले बार्सिलोनाका समर्थकहरूले प्रशिक्षक लुइस एनरिकमाथि देखाएको अभद्र व्यवहारप्रति आफू असन्तुष्ट रहेको बताए। उनले बार्सिलोना टिम र एनरिकप्रति मिडियाको कटाक्ष प्रति पनि आफू सन्तुष्ट हुन नसकेको बताए।
‘एउटा खराब खेलबाट निर्णयमा पुग्नु हुँदैन्। त्यो पनि जुन टिमले बार्सिलोनालाई सबै थोक दिएको छ,’ उनले भने। च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मनी(पिएसजी) बाट ४–० ले पराजित भएपछि अहिले एनरिक र बार्सिलोना टिमको ठूलो आलोचना भइरहेको छ।