भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले आफ्नै देशका महान अलराउन्डर कपिल देवको ३७ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्। पूणेमा चलिरहेको अस्ट्रेलियाविरूद्धको पहिलो टेस्टको शुक्रबार दोस्रो दिन अश्विनले थप तीन विकेट लिएपछि कपिलको १९७९–८० को एकै सिजन सर्वाधिक विकेट लिने कीर्तिमान भंग भएको हो।
कपिलले त्यतिबेला घरेलु सिजनमा ६३ विकेट लिएका थिए। अश्विनले यसै सिजन कपिललाई उछिनेर ६४ विकेटमा पुगेका छन्। अश्विन भर्खरै टेस्टमा सबैभन्दा छिटो २ सय ५० विकेट लिने बलर बन्न पुगेका थिए।
उनले एकै सिजन टेस्टमा सर्वाधिक विकेट लिने मामिलामा अस्ट्रेलियाका ग्लेन म्याग्राथको कीर्तिमानलाई पनि पछि पारेका छन्। म्याग्राथले १९९८–९९ को सिजन १२ टेस्टमा ६६ विकेट लिएका थिए। अश्विनले १० टेस्टमा ६७ विकेट लिएका छन्। उनी दक्षिण अफ्रिकाका डेल स्टेनले एकै सिजन सबैभन्दा धेरै ७८ विकेट लिएको कीर्तिमानभन्दा पछाडि छन्।