नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिको विषयमा पुनर्विचार गर्न नसकिने अडान राखेका छन्। सभापति देउवाले राजदुत नियुक्तिको विषय पार्टी केन्द्रिय समितिमा छलफल हुनै नसक्ने जिकीर पनि गरे। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दवाव दिएका छन्।
त्यसैको जवाफमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय कार्य समिति अहिलेसम्म छलफल नभएको पनि उल्लेख गरे। आईताबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा उनले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राजदूत नियुक्तिको विषय पार्टी भित्र कहिल्यै छलफल नभएको उल्लेख गर्दै अब पनि हुनै नसक्ने जिकीर गरे।
वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग गर्दै केन्द्रीय कार्य मितिको बैठक बोलाउन पनि सभापति देउवासँग शनिबार साँझ लिखित रुपमा माग गरेका थिए।
पौडेल पक्षले पार्टीका तर्फबाट राजदूतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको सदस्यसमेत नरहेको जिकिर गर्दै आएको छ। पौडेल पक्षका नेताहरुले पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न पनि केन्द्रिय कार्य समितिको बैठक सभापतिले बोलाउनुपर्ने तर्क गर्दै आएका छन्।
वरिष्ठ नेता पौडेल पक्षले संविधान संशोधन प्रस्ताव थाति राखि स्थानीय तहको निर्वाचनमा जान पनि पार्टी नेतृत्वलाई दवाव दिँदै आएको छ।