फागुन २१ गतेदेखि हुन लागेको मेची–महाकाली अभियान विथोल्न गृहमन्त्री विमलेन्द्र निधीले त्तेजक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ। एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति निकालेर गृहमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु खेदजनक र निन्दनीय भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा उनले लेखेका छन्, 'सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ।'
अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाट 'गैरजिम्मेवार र आपत्तिजजनक' अभिव्यक्ति आएको भन्दै सचिव भट्टराईले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा एमालेले राई–मधेसमा समेत पाइरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएको आरोप समेत एमालेले लगाएको छ।
गृहमन्त्री निधिले सोमबार सिराहाको लाहानमा आयोजित एक कार्यक्रममा एमालेले संविधान संशोधनमा असहयोग गरेको भन्दै मधेसमा एमालेका कार्यक्रम हुन नदिन आग्रह गरेका थिए।
एमालेले मधेसका जिल्लाई लक्षित गरी फागुन २१ देखि १५ दिने मेची महाकाली अभियान सञ्चालन गर्दै छ। अभियानका क्रममा मधेसमा २० जिल्लाका ३५ भन्दा धेरै साना-ठूला सहरमा आमसभा लगायतका कार्यक्रम गर्ने एमालेको तयारी छ।
.jpg?1488262493631)