मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको विरोधका कारण दुई प्रस्तावित राजदूतको नाम फिर्ता गर्ने प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुन सकेन। परराष्ट्र मन्त्रालयले विवादमा परेका आशा लामा र शर्मिला पराजुलीको नाम राजदूतबाट फिर्ता लिने प्रस्ताव शनिबार नै तयार पारेको थियो। लामा कांग्रेसको कोटामा युएईका लागि राजदुत नियुक्त भएकी थिइन् भने पराजुली लोकतान्त्रिक फोरमको कोटामा ओमानका लागि राजदुत नियुक्त भएकी थिइन्।
म्यानपावर व्यवसायमा संलग्न भएको र खाडी मुलुकमा राजदूत हुन लागेको भन्दै लामा र पराजुलीको नियुक्तिको बिरोध भएको थियो।
पार्टीको तर्फबाट सिफारिशमा परेकी पराजुलीको नाम फिर्ता लिए आफूलाई अप्ठेरो पर्ने भन्दै गच्छदार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेका थिए। स्रोतका अनुसार आज प्रस्ताव मन्त्रिपरिषद्मा जाने भएपछि गच्छदारले आफूलाई एकचोटी परराष्ट्र मन्त्री प्रकाशशरण महतसँग यो विषयमा कुरा गर्न दिनुपर्ने बताएका थिए। अहिले मन्त्री महत जेनेभामा भएकाले गच्छदारको कुरा सुनेर आजको मन्त्रिपरिषद् राजदूत फिर्ताको प्रस्तुत नभएको स्रोतले जानकारी दियो।
परराष्ट्रमन्त्री महतले, कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदारसँग कुराकानी गरेर नै दुई जनाको नाम फिर्ता लिएका थिए। राजदूतको नाम फिर्ता लिन सोमबार नै बस्ने भनिएको मन्त्रिपरिषद् बैठक ग्याल्पो ल्होसारको बिदाका कारण मंगलबार सारिएको थियाो।