रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो क्लब फुटबलमा अर्को कीर्तिमानको नजिकै रहेका छन्। स्पेनिस ला लिगाअन्तर्गत विहिबार बिहान लास पाल्मसविरूद्ध २ गोल गरेका रोनाल्डो गोल गर्ने मामिलामा अर्को कीर्तिमान नजिक पुगेका हुन्।
रोनाल्डोको क्लब फुटबलमा ३ सय ६५ गोल पुगेको छ। उनले जर्मनीका स्ट्राइकर गेर्ड मुलरको क्लब फुटबलमा रहेको ३ सय ६५ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए।
अब उनको अगाडि युरोपको क्लब फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा आफूलाई स्थापित गर्न २ गोल मात्र बाँकी छ। हालसम्म इङ्ल्यान्डका महान स्ट्राइकर जिमी ग्रेभ्सले क्लब फुटबलमा सर्वाधिक ३ सय ६६ गोल गरेका छन्। ग्रेभ्सले इङ्ल्यान्डको चेल्सी, टोटेनहाम र वेष्ट हाम तथा इटालियन सिरिया ‘ए’ क्लब एसी मिलानबाट खेल्दै ३ सय ६६ गोल गरेका थिए।
रोनाल्डोले पोर्चुगालको प्रिमेरा लिगा, इङ्ल्यान्डको प्रिमियर लिग र स्पेनको ला लिगाको तीन वटा क्लब पोर्टो, म्यानचेस्टर युनाइटेड र म्याड्रिडमा रहेर ३ सय ६५ गोल गरिसकेका छन्। सन् २०१५ मा हद्यघातका कारण ग्रेभ्स हिडडुल गर्न सक्दैनन्। तर, उनको ४६ वर्ष पुरानो कीर्तिमानलाई अहिलेसम्म कसैले तोड्न सकेको छ्रन्।
पहिलो पल्ट रोनाल्डो उनको कीर्तिमान नजिक पुगेका छन्। रोनाल्डोका प्रतिद्वन्दी बार्सिलोनाका लिओनल मेसीले हालसम्म ३ सय ३३ गोल गरेका छन्। ‘कीर्तिमान त्यही छ तोड्नका लागि र यदी रोनाल्डोले यो साता तोडेको खण्डमा म उनलाई बधाई दिन चाहन्छु र उनलाई अग्रीम शुभकामना,’ ग्रेभ्सको भनाई उल्लेख गर्दै गत मंगलबार ‘दि टेलिग्राफ’ ले लेखेको छ।