काठमाडौंमा भएको प्रथम बि.आई.ए. ह्विलचियर म्याराथुनमा १५० भन्दा बढी सहभागी भएका थिए। वोधिसत्व कार्यक्रम फाउण्डेसन (बि.आई.ए.) संस्थाले संस्थापक श्रद्वेय गुरू छोग्याल रिम्पोचेको ३३ औं जन्म उत्सवको उपलक्ष्यमा शनिबार म्याराथुन आयोजना गरेको हो।
भुकृटीमण्डपदेखि शहिदगेट, वीर अस्पताल, जमल, घण्टाघर, प्रज्ञाप्रतिष्ठान, पुतलीसडकहुँदैं भुकृटिमण्डपसम्म ४ कि.मि. दुरीको व्हिल्लचियर म्याराथुन सम्पन्न भएको हो।
शनिबार भएको कार्यक्रममा नेपालमा हालसम्मकै व्हिल्लचियर म्याराथुन प्रतियोगितामा अधिक धनराशीले बिजेतालाई सम्मान गरियो।
प्रथम हुने पुरुष/महिलालाई २५/२५ हजार दोस्रो हुने पुरूष/महिलालाई १५/१५ हजार र तेस्रो हुनेलाई १०/१० हजार प्रदान गरियो।
प्रथम पुरुषतर्फ प्रेम बि.क., दोस्रो भरत बि.सि. र तृतिय रमेश खत्री साथै महिलातर्फ यानी मगर प्रथम, दोस्रो रजनी राई र तृतिय लाली तामाङ भए।
साथै १० जना पुरुष र ७ जना महिलालाई मेडल प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि राजेश हमालले यस्तो कार्यक्रमले हौसला प्रदान गर्ने भएकोले आफू निकै खुसी भएको प्रतिक्रिया दिए। उनले जीवनमा सबैलाई चूनौति भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागीहरुले आज सबैको मन जित्न सफल भएको टिप्पणी गरे।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सांसद तथा फूलकुमारी मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र महतोले शारीरिक अपांगता भए पनि सपांगता भएकाहरुले गर्न नसक्ने आजको म्याराथुनमा सहभागीहरुले गरेर देखाएको बताए।
उनले भने, ‘भगवानले तपाईँहरुलाई यस्तो अपांगता बनाए पनि तपाईहरू मानसिक रुपमा बलियो हुनुहुन्छ, तपाईँहरुले जुन उत्साह आज देखाउनुभयो, यो ठूलो जित हो, तपाईहरुले नगर्न सक्ने भन्ने केही कुरै छैन।’
त्यस्तै कार्यक्रममा तेन्जिङ् वाङ्ल रिम्पुचे, बरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत लगायतको उपस्थिति थियो।