स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए ।
पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उनका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच/पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई/दुई जहदा र कटहरी गाउँपालिका तीन/तीन, ग्रामथान र कानेपोखरी गाउँपालिका एक/एक त्यस्तै रतुवामाई नगरपालिका तीन, बेलबारी नगरपालिका चार, लेटाङ भोगटेनी नगरपालिका तीन, रङ्गेली नगरपालिका दुई, पथरी शनिश्चरे एक, मिक्लाजुङ गाउँपालिकामा एक मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिए।
मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका, आठ गाउँपालिकासहित १७ स्थानीय तह छन् ।
नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक प्रमुख, एक उपप्रमुख तथा प्रत्येक वडाबाट एक अध्यक्ष र एक महिलासहित चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । रासस