प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएस प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बि ह्यारिजसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले गत भूकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमुना भएको बताउँदै त्यसक्रममा नेपालका गाउँमा उद्धारमा खटिँदा ज्यान गुमाउने अमेरिकी सेनाप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल अमेरिकी जनता र सेनाप्रति समवेदना प्रकट गरे।
प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरे।
भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताए। उनले नेपालको स्टाफ कलेजमा अमेरिकी सेनाले पढ्ने गरेको तथा नेपालबाट ‘माउन्टेन वारफेर’ सिक्न पाएकामा धन्यवाद दिए। रासस