भिडियो गेमको जापानी कम्पनी निन्टेन्डोले ‘सुपर मारीयो’ को एनिमेटेड फिल्म बनाउने घोषणा गरेको छ। इलुमिनेसन इन्टरटेन्मेन्ट, द अमेरिकन फिल्म र एनिमेसन स्टुडियोको सहकार्यमा निन्टेन्डोले उक्त फिल्म बनाउने भएको हो।
भिडियो गेम मारीयो सन् १९८३ मा निर्माण भएकाे हाे। यो गेमको ५०० मिलियन कपी विक्री भइसकेको छ। फिल्मलाई निन्टेन्डो र इलुमिनेसनले लगानी गर्ने भएका छन्। युनिर्भसल पिक्चर्स फिल्म विक्रेताको रूपमा रहने छ।
निन्टेन्डोले ट्वीटमार्फत भनेको छ, ‘निन्टेन्डो र इलुमिनेसन मिलेर मारीयोको फिल्म निर्माण गर्दैछौं। यसमा सिगेरु मियामोटो र क्रिस मेलेटान्ड्री सह-निर्माण रहनेछ।’
मियामोटो भिडियो गेम मारीयोका निर्माता हुन् भने मेलेडान्ड्रीले इलुमिनेसन इन्टरटेन्मेन्ट र युनिर्भसल स्टुडियो निर्माण गरेका हुन्। इलुमिनेसनले ‘डिस्पेन्सेवल मि’, मिनियोन्स, द सेक्रट अफ पेटस् लगायतका एनिमेसन बनाएको छ।
फिल्मको रिलिज मिति भने तय भएको छैन।