दार्जिलिङका कवि मनोज बोगटीले आफ्नो पहिलो कथासंग्रह ‘लाइफ अ बटरफ्लाई’ बजारमा ल्याएका छन्।
शनिबार राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कथासंग्रह सार्वजनिक गरिएको हो। कथासंग्रहमाथि बोल्दै समीक्षक राजकुमार बानियाँले बोगटीका कथाले राजनीतिकभन्दा सामाजिक विषयको उठान गरेता पनि त्यो डिस्कोर्स नेपाली सन्दर्भमा पनि मेल खाने भन्दै लेखकको प्रशंसा गरे। ‘कथाहरु पढ्दा मलाई अज्ञात आनन्द आयो,’ बानियाँले भने।
यस्तै अर्का वक्ता नवीन विभासले दार्जिलिङको समाज, राजनीतिक बिम्ब बोकेका मनोजका कथाले यताको नेपाली समाजलाई समेत चिहाएको धारणा राखे। उनले भने, ‘मनोजका कथा पढिरहँदा कविता जस्तो पनि लाग्छ।’ त्यसैगरी आफ्नो रचनागर्भ बारे बोल्दै कथाकार बोगटीले लगातार कविता लेख्दालेख्दा बढी लेखियो भन्ने लागेरै कथामा कलम चलाएको अनुभव सुनाए।
कवि बोगटीको यसअघि ६ वटा कवितासंग्रह प्रकाशन भइसकेको छ। कथासंग्रह ‘लाइफ अ बटरफ्लाई’ सांग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो।