मैथिली रंगमञ्चमा जनकपुरधामको विशिष्ट स्थान रहँदै आएको छ। उसो त मैथिली नाटकको प्रारम्भ मिथिला क्षेत्रमा कर्णाटक वंशीय राजाहरुले शासन गरेको समयदेखि नै भएको मानिन्छ। त्यसपछि मल्ल र सेनवंशी राजाहरुले पनि मैथिली नाटक मञ्चन गराउन लगाउँथे।
मैथिली नाटकको रूपमा पहिलो पटक ज्योतिरीश्वर ठाकुरद्वारा लेखिएको नाटक धूर्तसमागम मञ्चन भएको मानिन्छ। जो १४औँ शताब्दिमा मञ्चन भएको थियो।
मैथिली नाटकको इतिहास पुरानो रहे पनि यसलाई आधुनिकता प्रदान गर्ने काम जनकपुरधामबाटै भएको मानिन्छ। मैथिली आधुनिक नाटकको आरम्भ पण्डित जीवनाथ झाद्वारा लेखिएको नाटक ‘दुर्गा विजय’ बाट भएको मानिन्छ।
यो नाटकको मञ्चन वि.सं २०१५ सालमा भएको थियो। यो नाटकलाई नै मैथिलीको पहिलो आधुनिक नाटक मानिने गरिन्छ। भारतबाट जनकपुरधाम आई पुगेका पण्डित झा लामो समयसम्म अध्यापकको रुपमा यहाँ काम गरेका थिए।
यस अतिरिक्त नाटककारहरु लालदास, मुन्सी रघुनन्दन दास, हर्षनाथ झा, तेजनाथ झा, त्रिलोचननाथ मिश्र, आनन्द झा, ठाकुरप्रसाद झा, शम्भुनाथ झा, शिवाकान्त ठाकुर, दामोदर झा, डा. बज्रकिशोर वर्मा, राधाकृष्ण चौधरी, गोविन्द झा लगायतले मैथिली रंगमञ्चका लागि नाटक लेखे।
आधुनिक कालमा मैथिली नाटकको लेखन उत्साहपूर्ण भए पनि मञ्चन भने हुन सकिरहेको थिएन। २०१३ सालमा वासुदेव ठाकुरको सत्यनारायण भगवान नामक मैथिली नाटक धनुषाको लोहनामा मञ्चन भएको थियो। तत्कालिन समयमा दसैं दिपावलीमा तथा छठमा मात्रै नाटकहरु मञ्चन हुने मिथिला नाट्य कला परिषदका पूर्व अध्यक्ष मदन ठाकुरले सम्झिए। त्यो समयमा मञ्चन हुने अधिकांश नाटकहरु हिन्दीमै हुन्थे उनको भनाई छ।
तर जब जनकपुरधाममा वि.सं. २०३६ सालमा मिथिला नाट्य कला परिषद (मिनपा) को स्थापना भयो मैथिली रंगमञ्चको कायापलट भएको थियो। मिनाप शुरुदेखि नै भाषिक आन्दोलनसँगै रंगमञ्च, संगीत, साहित्य, नृत्य र मैथिली भाषा सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको मैथिलीका बरिष्ठ कलाकार सुनिल मिश्र बताउँछन्। मैथिली नाटकको प्रगति पथमा मिनाप नै माइलस्टोन सावित भएको थियो।
प्रारम्भमा भारतीय नाटककारहरुले लेखेको मैथिली नाटक नै जनकपुरधाममा मञ्चन हुन्थे। पछि महेन्द्र मलंगियाद्वारा लेखिएको मौलिक मैथिली नाटक मिनापले मञ्चन गर्न शुरु गर्यो।
वभनगामास्थित कन्टिर झा माध्यमिक विद्यालयमा वर्षौसम्म अध्यापन पेशामा संलग्न मलंगिया मिनापमा स्थापना कालदेखि नै आवद्ध थिए। उनले नै मिनापका नाटकहरुलाई गतिशिल बनाएका थिए। उनले पहिलो पटक लक्ष्मणरेखा खण्डित नामक नाटक लेखे।
मिनापका अतिरिक्त मैथिली रंगमञ्चको विकासमा जनकपुरधाम क्षेत्रको युनाप, रामानन्द युवा क्लब, आकृति नाट्य समूह, रंगदर्पण लगायतका संघ संस्थाहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरे।
धनुषाको देउरी परवाहामा रामरेखा पण्डित रमेशरञ्जनसँग मिलेर वि.सं. २०४२ सालमा युवा नाट्यकला परिषदको स्थापना गरे। युनापले देह पर कोठी खसा दिअ, फटफटिया काका, काठक लोक, पुस जाढ कि माघ जाढ, ओरिजनल काम लगायतका दर्जनौँ नाटकहरु म्ञ्चन गरिसकेको छ।
२०५० सालमा जनकपुरधाममा स्थापित रामानन्द युवा क्लबले पनि मैथिली नाटकहरु मञ्चन गर्दै आईरहेको छ।
वि.सं. २०४९ सालमा स्थापना भएको आकृति नाट्य समूह धेरै नै चर्चा पायो। अब यो नाट्य समूह नरहे पनि मैथिली रंगमञ्चमा यो नाट्य समूहले पुर्याएको योगदानलाई बिर्सन सकिदैन।
एकटा आओर वसन्त, पेटक खातिर, महिषासुर मुर्दावाद, आदर्श कुटुम्ब जस्ता दर्जनौँ नाटकहरु यो संस्थाले मञ्चन गरिसकेको छ।