कलामा संगीतको अलग तथा बेजोड स्थान हुन्छ। मिथिला क्षेत्र गीत संगीतको मामिलामा समृद्ध क्षेत्र मानिन्छ। मैथिली संगीतको साख जोगाउन केही कलाकारहरू क्रियाशील छन्। तिनै कलाकारमध्ये एक हुन् ललित कामत । कामतको गायकी सुन्नका लागि संगीतका पारखीहरू ललायित हुन्छन् । उनी गायकीको सवालमा अब्बल दर्जाको गायक हुन् भन्दा अतिशयोक्ति नहोला।
संगीत तथा गायकीमा नाम कमाउन चाहन्थे ललित
वि.सं. २०३६ साल मंसिर १२ गते धनुषाको खजुरी चन्हामा ललितको जन्म भयो।
गाउँकै विद्यालयबाट एसएलसीसम्म अध्ययन गरेपछि उच्च शिक्षा हासिल गर्न भारत गए। सानैदेखि उनमा संगीतप्रति रूचि थियो त्यसैले उनले भारतको गन्धर्व विश्वविद्यालयबाट संगीत विधा सुरू गरे। संगीत विधामा उनले स्नातकसम्म पढे। बच्चैदेखि संगीत तथा गायकीमा नाम कमाउन चाहेकोले संगीत विधा लिएको उनी बताउँछन्।
ललितले हासिल गरेको शिक्षाको झल्को उनको गायकीमा स्पष्ट देख्न सकिन्छ। उनको सूर र ताल देखेर कतिपय संगीतका महारथीहरू पनि चकित पर्छन्।
कामतको आवाजमा त्यो जादू छ जो कोहीलाई पनि आफूतर्फ आकर्षित गर्न सक्छ। उनले यसको श्रेय भने शिक्षालाई नै दिन्छन्।
‘शिक्षाकै कारण गायकीमा निखार आएको हो,’ उनी भन्छन्।
पहिलो गुरु बुवा
पिता रामविलास कापडी र आमा सोनावती देवीको गर्भबाट जन्मेका ललितको बाल्यकाल सुख मै बित्यो। कृषक परिवारमा जन्मिए पनि पारिवारिक वातावरण भने सांगीतिक थियो। उनको बाजे मातवर कामत तबला बजाउथे भने बुवा गीत गाउँथे।
ललित जब बुवाले गीत गाएको सुन्थे तब उनको मनमा पनि गीत गाउने उद्वेग बढ्थ्यो। त्यसैले ललित आफ्नो गायकीको पहिलो गुरु बुवालाई नै मान्छन्। छोरोको संगीतप्रतिको मोह थाहा पाएर उनका बुवाले सूर र ताल सिकाए। पिताले सिकाएको केही ज्ञानबाटै उनले गीत गाउन सुरू गरे।
उनले गाएको सुनेर गाउँका साथीहरू छक्क पर्थे। साथीहरूले उनलाई गायन यात्रामा अघि बढ्न सुझाए।
मिनापको प्रवेश स्वर्णिम समय
भारतको गन्धर्व विश्वविद्यालयबाट अध्ययन गरेर उनी नेपाल फर्के। जनकपुरधाममा संगीत क्षेत्र व्यवसायिक रूपमा अघि बढ्न सकिरहेको थिएन। सीमितले यस क्षेत्रमा हात हालेका थिए। जब उनको आगमन भयो जनकपुरधामको संगीतले केही उचाइ हासिल गर्न सफल भयो।
जनकपुरधाम आएर ललित मिथिला नाट्य कला परिषद्, मिनापमा प्रवेश गरे। मिनापमा पनि गायकको खाँचो थियो। उनको आगमनपछि मिनापको गायकी विधाले काँचुली फेर्यो। उनी मिनापले मञ्चन गर्ने नाटकहरूलाई आफ्नो कर्णप्रिय आवाजको माध्यमले दर्शकहरूलाई मन्त्रमुग्ध पार्थे।
उनी व्यवसायिक रूपमै यस क्षेत्रमा स्थापित हुन चाहन्थे। त्यसैले बाटो खोजिरहेका थिए। नभन्दै त्यो दिन पनि आयो मैथिलीका साहित्यकार एवं गायक धीरेन्द्र प्रेमर्षिले दिए उनलाई ब्रेक ।
धीरेन्द्रले उनलाई ‘ओ रुकियो कनि तऽ बारि दिअ, कऽ दैत छी विदाह’ बोलको गीत गाउन लगाए। त्यो गीतले नै उनलाई सफलताको क्षेत्रमा अघि बढ्न प्रेरित गर्यो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
गन्धर्व विश्वविद्यालयमा अध्ययन गरिरहेकै समयमा उनले उतरांचलको कुमाउनी भाषामा ‘चिर दियारोक टु कानमे’ बोलको गीत गाए। यो गीत उतरांचलमा धेरै चल्यो। यतिमात्रै होइन खोता सिंगार नामक मैथिली गीति एल्बमको गीत ‘नारीये कोखिसँ सभ जन्मैत अछि’ गाएपछि ललितको सांगीतिक यात्रा सफलतातर्फ बढ्न थाल्यो। यीमध्ये उनले गाएको ’जिन्दगी धूँवा धूँवा’ गीत धेरैको मन मस्तिष्कमा बस्न सफल भयो।