अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)
महिलाका कथा पुनर्लेखन गरिनुपर्छ- यो विश्वव्यापी चासो हो।
केही हदसम्म महिलाका कथा फिल्ममा देखिन थालेका छन् पनि। तर के तिनले उनीहरूलाई न्याय गरेको छ? के महिला र उनीहरूका कथा राम्ररी चित्रण भएका छन्?
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा बिहीबार यस्तै विषयमा अन्तर्क्रिया भयो।
सन् २०१८ मा विश्वका २० मुलुकमा धेरै व्यापार गरेका ५६ फिल्मको विश्लेषण गर्दै प्लानले अनुसन्धान गरेको थियो। बिहीबार किम्फमा प्लान नेपालले 'रिराइट हर स्टोरी' विषयमा अनुसन्धान रिपोर्ट जारी गर्यो। त्यसपछि 'बडी एन्ड डाटा' कि कविता राई, गौंथली इन्टरटेनमेन्टका अभिमन्यु दीक्षित, डकस्कुलका क्षितिज अभिराज र कलाकार रोजिता बुढाचार्यले यो विषयमा अन्तरक्रिया गरे।
कविताले सामाजिक सञ्जालमा भाइरल भएका 'मिम' र फिल्मका विषयबारे उल्लेख गर्दै लैंगिक, सामाजिक एवं भाषाको प्रयोगद्वारा महिला एवं किशोरी दमन भइरहेको बताइन्।
'महिलालाई संरक्षण गर्ने, सहयोग गर्ने, मातृत्वलाई बढुवा दिने एवम् महिलाको जिम्मेवारी यो, पुरुषको यो भन्ने कुराले उनीहरूलाई सधैं पुरानै धारमा लगिरहेको छ,' उनले भनिन्, 'यसले उनीहरूलाई कहिले त्यो जञ्जालबाट बाहिर आउन दिँदैन।'
फिल्म र मिडिया यी कुराबाट बाहिर आउनै सकेका छैनन्। झन् त्यस्तै फिल्म ब्लकबस्टर हुन्छन्, त्यस्तै गीत रुचाइन्छन्। पुरुषलाई उनीहरूको दिमाग र महिलालाई शरीरसँग जोडिने गरिएको बताइन्।
रामायण होस् वा सामाजिक सञ्जाल, भाषामा हुने राजनीति चलिरहेको छ।
उनले 'पब-जी' को उदाहरण दिँदै प्रष्ट्याइन्, 'पुरुषलाई बहादुरीसँग जोडिन्छ भने महिलालाई यौनिक ढंगमा। सारीमा नारी भने जसरी देखाइन्छ। उनलाई आफ्नो जिम्मेवारी सधैं बताइन्छ।'
फिल्म समीक्षासमेत लेख्ने अभिमन्युले यो कुरा झनै बुझेका छन्। 'क्याप्टेन', 'जात्रैजात्रा', 'बुलबुल', 'साइँली', 'छ माया छपक्कै' लगायत फिल्मबारे उनले लेखेका छन्। ती फिल्मले राम्रो व्यापार गरे पनि तिनमा महिला पात्रलाई सहायकका रुपमा हेर्ने, यौनिक रुपमा व्याख्या गरेको पाइएको बताए।
'क्याप्टेन फिल्ममा महिलाका स्तनलाई फुटबलका रुपमा बताइएको छ, बुलबुलमा पुरुषले महिला पात्रलाई यौनसाथीको रुपमा मात्रे लिएको छ, जात्रैजात्रा, कबड्डीलगायतमा केटीलाई केटाको पुरस्कारका रुपमा,' उनले भने, 'व्यवसायिक अनि समीक्षकहरूले राम्रो भनेको फिल्म नै यस्ता छन्।'
डकस्कुलका क्षितिजले फिल्महरूले महिलालाई नकरात्मक रूपमा प्रयोग गरिरहेको भए पनि 'ब्यान्डिट क्विन', 'रोटी-कपडा-मकान-कण्डम' लगायत फिल्म र फिल्मकै पोस्टरबाट जनचेतना अनि समसामयिक विषय पनि समेटिएको बताए।
रोजिताले आफ्नो प्रारम्भकालको स्मरण गर्दै आफूलाई महिला भएकै कारण परिवारले सुरक्षा दिन खोजेको बताइन्। फिल्ममा महिला पात्रलाई देखाइने चरित्रका कारण परिवारले यो क्षेत्रमा लाग्न खासै प्रेरणा दिन्थेनन् रे।
'पर्दामा नै त्यस्तै देखाइन्छ त बुवाले पनि नजाऊ भन्नुहुन्थ्यो,' उनले भनिन्, 'जसले स्क्रिप्ट लेख्नुहुन्छ, फिल्म बनाउनुहुन्छ उहाँहरूले नै त्यो कुरा सोच्नुभयो भने हाम्रा फिल्मबाट यस्ता कुरा हटनेछन्।'
मिडियाकर्मपछि रोजिताले सगरमाथा आरोहण गरिसकेकी छन्। विभिन्न नाटक खेलिसकेकी उनले हालै झमक घिमिरेको जिवनी 'जीवन काँडा कि फूल' मा अभिनय गरेकी छन्।
'झमकजीलाई एकपटक एकजनाले तपाईंको फिल्मको हिरो-भिलेन को भनेर सोध्नुभयो?' रोजिताले भनिन्, 'भिलेन त थाहा भएन तर फिल्मको हिरो मै हुँ भन्नुभयो। त्यस्तो होस् न फिल्म।'