प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म अमेजन प्राइममा रिलिज हुने भएको छ। केही समयअघि 'गोर्खाः बिनिथ द ब्रेभरी' नाममा प्रदर्शनमा आएको फिल्म अब '१९१५ लेजेन्ड अफ गोर्खाज' को नामबाट रिलिज हुन लागेको हो।
अमेरिकन वितरक कम्पनी एसएनआर फिल्म्सले यसको वितरण गर्दैछ। ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदैछ। त्यसपछि युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिवान र जापानमा रिलिज गरिने निर्माण टिमले जानकारी दिए।
पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेको फिल्म प्रदीप शाहीको डेब्यू निर्देशिय फिल्म हो।
शाई प्रोडक्सनको ब्यानरको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्।
फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रूपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स छ। मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता हुन्।
प्रदीप शाहीको निर्देशनमा बनेको दोस्रो फिल्म ‘अन्तिम संस्कार’ को पोस्ट प्रोडक्सनको काम भइरहेको छ।