गायक प्रकाश सपुतको नयाँ गीत 'सकम्बरी' विवादमा परेको छ।
युट्युबमा रिलिज भएको चार दिनसम्म उक्त गीत 'ट्रेन्डिङ वान' मै छ भने गीतका अंशमा धेरैले टिकटक बनाएका छन्।
भाइरल भइरहेको गीतका शब्दहरू स्त्रीद्वेषी भएको भन्दै आलोचना सुरू भएको हो। सामाजिक सञ्जालमा गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको भन्दै आलोचना भएको छ।
गीतमा सकम्बरी नामकी पात्र छन्। जसको नाम गाउँमा हुँदा फूलमाया हुन्छ। सपुतले सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास 'शिरिषको फूल' बाट लिएको देखिन्छ। पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि सुहाउँदो नरहेको भन्दै आलोचना भएको छ।
यसअघि सपुतको 'पीर' शीर्षकको गीतको भिडिओको दृश्य विवादमा परेको थियो। उक्त गीतको भिडिओमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए।
गीतमा महिला पात्रको प्रस्तुतिलाई लिएर फेरि विवाद भएपछि हामीले सपुतलाई यसबारे कुरा गर्न खोज्यौं। उनी केही समयअघि अमेरिका गएका रहेछन्।
अमेरिकामा रहेका सपुतसँग हामीले उनको नयाँ गीतमाथि उठेका प्रश्नबारे कुरा गरेका छौं।
तपाईंको नयाँ गीतको चर्चासँगै आलोचना पनि चुलिएको छ। यसलाई कसरी लिनुभएको छ?
मान्छेहरूले मलाई विवादको पर्यायजस्तो रूपमा लिन थालिसकेका छन् तर विचारसहितको सिर्जना गर्दा विवादरहितचाहिँ हुन नसकिने रहेछ।
त्यसैले अहिले विचारहरू सिर्जना गरिरहँदा कुनै न कुनै दृष्टिले समाजको कुनै न कुनै मुद्दालाई कुनै पात्रमार्फत, गीतमार्फत प्रस्तुत गरिरहँदा त्यहाँ कुनै न कुनै पक्षको विचारमाथिको टिप्पणी आउँछ भन्ने कुरामा पहिल्यै मानसिक रूपमा तयार हुने गर्छु। र पनि मेरो स्वभावको हिसाबले मलाई अलिअलि दुख्दैन भन्दाभन्दै पनि दुःख चाहिँ लाग्छ। त्यति धेरै नसोचिदिए हुन्थ्यो। त्यसरी चाहिँ नभनिदिए हुन्थ्यो भन्ने लाग्छ। त्यस्तो नहुने रहेछ।
अब कि त सिर्जनाहरू नै विचाररहित बनाउनुपर्यो होइन भने विचारसहितको सिर्जना विवादरहित नहुने रहेछ भन्ने कुरा लामो अनुभवले सिकाइसकेको छ।
सुरूदेखि तपाईंको यो गीतका शब्द र भिडिओ हेर्दा महिलाले लगाएका गहना-कपडा अर्कैले किनिदिएको भनिएको छ। उसले काम रोज्न गरेको स्वनिर्णय र आत्मसम्मानमाथि पनि प्रश्न गरिएको छ। अनि जवानी बेच्ने, इमान बेच्ने, चरित्रहीन भनेर लाञ्छना लगाइएको छ भनेर पनि टीका-टिप्पणी भइरहेको छ। फेरि पात्रले अन्त्यमा ती लाञ्छना स्वीकार गरेको देखाउनुभएको छ। यसले महिलालाई बलियो कसरी प्रस्तुत गर्छ?
गीतमात्र सुन्दा चाहिँ त्यस्तो लाग्छ। मैले सुरूमा अडिओ मात्र बनाउँदा यो एक पक्षीय भयो कि, साँच्चिकै यो त कसैको अस्मितामाथि, नैतिकतामाथि प्रश्न गरेको भयो कि भन्नेचाहिँ लागेको थियो। मैले यसलाई गीतको भावलाई, शब्दहरूलाई कथासँगै अगाडि लगेको छु। दृश्यसँगै, कथाको भावसँगै, पात्रहरूसँगै अगाडि बढाएको छु।
जुन प्रश्न गीतमा सोधिएको छ, जुन प्रश्न सोध्ने पात्र निर्माण गरिएको छ, त्यो पात्रको नियत, त्यो पात्रको चरित्रलाई गहिरिएर हेर्नुभयो भने सम्भवत: उसको मानसिकता त्यहाँ झल्किन्छ। जसरी मानिसहरूले मलाई, त्यो गीतलाई लिएर सर्जकको नियत, चेतनामाथि प्रश्न गरिरहेका छन्, त्यो सर्जकले अर्को छुट्टै पात्र निर्माण गरेको छ। म त्यहाँ आफैं गायकको रूपमा प्रस्तुत भएको छु र त्यो पात्रमा कमजोर चेतना हालिदिएको छु। त्यो पात्रमा कमजोर नियत हालिदिएको छु।
त्यो पात्र जसले आफैंबाट त्यो सकम्बरी वा फूलमायालाई एउटा खराब व्यवहारबाट सुरूआत गरेको थियो। सबैभन्दा पहिले उसैले फूलमायाको जवानीको दुरूपयोग गरेको थियो। अथवा उसले सहयोग गर्ने बहानामा, उसको सपना पूरा गरिदिने बहानामा उसलाई प्रयोग गरेको थियो। र उसैले पछि गएर प्रतिप्रश्न गरेको थियो। सायद त्यसमा उसको कमजोर मानसिकता, उसको कमजोर चेतना देखिन्छ। त्यो प्रश्न गर्ने व्यक्तिको चरित्र अथवा त्यो व्यक्तिको भूमिका हेर्नुभयो भने सम्भवत: उसको चेतना नै त्यति हो। मलाई चाहिँ यसमा कुनै दुबिधा छैन कि त्यो पात्र मैले सही बनाएको छु र त्यो चाहिँ एउटा सर्जकले गरेको प्रश्नभन्दा पनि मैले निर्माण गरेको पात्रले गरेको प्रश्न हो। त्यसरी नै बुझ्न आग्रह गर्न चाहन्छु।
तपाईंले महिला पात्रलाई बलियो देखाउन चाहनुभएको त होला तर जुन भिडिओमा जबर्जस्ती गर्ने पुरूषहरूले गरेको गल्तीको सजाय भएको वा उनीहरूले पश्चताप गरेको देखिँदैन। महिला पात्रले अन्तिममा आफ्नो गल्ती स्वीकार गरेको देखाइएको छ। यसले महिलालाई कसरी बलियो रूपमा प्रस्तुत गर्छ? यसले उनीहरूको आत्मसम्मानमा झन् ठेस पुगेन र?
हामी एउटा सभ्य समाजको निर्माणको परिकल्पना गरिरहेका छौं। महिलाहरूको आत्मसम्मानको कुराहरू उठिरहेको छ। त्यो फूलमायाको कथा हो। सकम्बरीको कथा हो। सायद परिस्थितिले उसलाई त्यो बाटोमा हिँड्न बाध्य बनायो। ऊ विवश भई, सहरलाई यस्तै नै रहेछ भनेर बुझी। तर जब उसको बुझाइमाथि फेरि प्रश्न गर्न थालियो, ऊ जोजो मानिसहरूसँग ठोक्किँदै ठोक्किँदै त्यहाँसम्म पुगी र जब उसलाई फेरि तैंले गलत गरिरहेको छस् भनेर प्रश्न गरियो र अन्तमा उसले त्यस्तो गलत हो भने चाहिँ त्यो गलत गर्न प्रेरित गराउने सबै गलत हो भनेर आत्मसमीक्षा पनि गरेको छ। एउटा प्रश्न पनि गरेको छ। यो मेरो धारणा हो।
हामीले अरूलाई पनि औंला उठाउनुपर्छ र आफ्नो आत्मसमीक्षा पनि गर्नुपर्छ। हामीले हिँडिरहेको बाटोमा भेटिएका मानिसहरू मात्रै गलत हुन् कि हामीले हिँडिरहेको बाटो नै गलत हो भन्ने कुरा समीक्षा गर्नुपर्छ। यो राजनीतिमा पनि जरूरी छ। हाम्रो समाजमा पनि जरूरी छ। त्यसमा चाहिँ त्यो पात्रले 'हो ल समाजका अनुसार ऊ हिँडिरहेको बाटो गलत हो भने त्यो बाटोमा हिँड्न प्रेरित गर्ने र त्यो बाटोमा भेटिएका मानिसहरू पनि त गलत हुन्' भन्ने समीक्षात्मक विचार पात्रले राखेको छ। यही विचार चाहिँ मेरो पनि यो। म यसमा अडिग छु।
तपाईंले महिला पात्रलाई एक ठाउँमा रातिराति कहाँ जान्छौ भन्ने प्रश्न गरेको देखिन्छ। महिला रातिमा हिँड्नु वा काममा जानुलाई तपाईंले नराम्रै काम गर्न गएको भनेर अर्थ लगाएको भनेर भनिएको छ। यस्तो छुट तपाईंले कसरी पाउनुभयो भनेर प्रश्न गरेका छन् नि?
यो चाहिँ अत्यन्तै जबर्जस्ती जस्तो देखिन्छ। यो मैले कुनै सार्वजनिक ठाउँमा गएर भनेको, कुनै मिडियामा गएर भनेको वा कुनै व्यक्तिलाई इंगित गरेर भनेको होइन। जसरी कलाकारितामा, जसरी त्यो कथामा पात्रहरूको पृष्ठभूमि तयार गरिएको छ, जसरी त्यो प्रश्न गर्ने पात्रको नियत तयार गरिएको छ, उसको कमजोर चेतना तयार गरिएको छ। उसले आफ्नो कमजोरीहरू लुकाउन वा केटीप्रतिको आफ्नो रिस साँध्न जसरी प्रश्न सोध्ने पुरूषको चरित्र निर्माण गरिएको छ, त्यसले सोध्ने, बुझ्ने त्यत्ति नै हो नि।
यो मेरो सर्जकको हिसाबले कमजोरी हो कि अथवा मेरो प्रस्तुतीकरण कमजोरी हो कि! मैले मानिसहरूलाई पात्रप्रति सहमत गराउन नसकेको हो कि! पात्रहरूको चरित्र निर्माण गर्न नसकेको हो कि वा हाम्रो कला पक्षबाट बुझाइ नै कमजोरी हो कि!
यो विषयबारे चाहिँ जहिल्यै दुबिधामा पर्ने गरेको छु। मैले काम गरिरहँदा मैले सबै पात्रहरूको चरित्र निर्माण गरिरहेको छु। उनीहरूको मानसिकता निर्माण गरेको छु। चाहे त्यो सकम्बरी होस् वा उसलाई त्यहाँसम्म ल्याउने गायक पुरूषको होस्, चाहे सुनिल थापा सरले निर्वाह गर्नुभएको पात्रको कुरा होस्, चाहे रेस्टुरेन्टको साहुजीको होस्, वा उसकोमा काम गरिरहेकी एकल आमाको होस्, त्यो सबैको चरित्र निर्माण गरेको छु र त्यो चरित्रले आ-आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।
त्यो पुरूष जसले म तिमीलाई सहयोग गर्छु भनेर उसको आडभरोसामा उनी आई र आफ्नो कोठामा राखेर सहयोग गरेको बहानामा जसरी उसको दुरूपयोग गर्यो र उसको त्यो चरित्र र मानसिकताले सोध्ने प्रश्न पनि त्यही तहको हुन्छ भन्ने बुझाउन मैले किन नसकेको हो भन्ने कुरामा म दुबिधामा छु। मानिसहरूले म एउटा, सर्जक प्रकाश सपुतलाई प्रश्न गरिरहेका छन् तर त्यो प्रश्न चाहिँ त्यो पात्रका लागि सही थियो कि थिएन, त्यो पात्रको चरित्र निर्माण ठिक भयो कि भएन भन्नेतर्फ मानिसहरूले सोचेकै छैनन्।
बाहिरबाहिर मात्र सतही टिप्पणी गरिरहेका छन्। फेरि एकपटक भिडिओ राम्रोसँग हेर्नुहोस्, सबै पात्रहरूलाई केलाउनुहोस् र पात्रको चरित्र बुझ्नुहोस्, उसको चेतना बुझ्नुहोस्। मैले उनीहरूको चरित्र निर्माण गर्न सकेको छैन, चेतना निर्माण गर्न सकेको छैन, पृष्ठभूमि निर्माण गर्न सकेको छैन भने म सर्जकीय हिसाबले चुकेको छु। त्यसैले फेरि त्यो हरेक पात्रहरूको चरित्रलाई केलाउनुहोस्, उसको पृष्ठभूमि बुझ्नुहोस् र उसको चेतनासँग अघि बढ्नुहोस् न कि एउटा प्रकाश सपुतको चेतनासँग।
तपाईंले यौनकर्मीहरूको इज्जतलाई सम्मान नगरेको भन्ने पनि छ। एउटा महिलालाई कुनै पनि पेसा रोज्ने छुट छ। तपाईंले त बाध्यताले यौनकर्ममा लागेको महिलाको इज्जतमाथि लाञ्छना लगाउनुभयो भन्ने छ नि?
फूलमाया वा सकम्बरीको कुरा गर्दा यसमा उसलाई व्यावसायिक यौनकर्मी भनिएको छैन। रातमा काम गरेको वा व्यावसायिक रूपमा यौनकर्म गरेको यी यावत कुराहरू उसको पात्रको एउटा घुम्तीहरू मात्र हुन्। बिसौनीहरू मात्र हुन्। यात्राका केही नमिठा अनुभवहरू मात्र हुन्। समग्रमा एउटा दृष्टिकोण, एउटा पुरूष चरित्र, केही महत्वकांक्षा र केही सहरका आधुनिक रङहरू मात्र देखाउन खोजिएको हो। त्यसैले यो कुनै यौनकर्मी पात्रमा वा राति काम गर्नेको चरित्रमाथि औंला उठाइएको होइन।
यसमा एउटा फूलमायाको यात्रालाई मात्र देखाएको हो। यो एउटै मुद्दामा अल्झिएको छैन। यौनकर्मीको मुद्दामा अल्झिएको छैन। यो रातमा काम गर्नेहरूको मुद्दामा अल्झिएको छैन। मलाई त्यसरी अल्झ्याउनै मन लाग्दैन।
मलाई चाहिँ सरसर्ती यात्रा देखाउन मन लाग्छ र त्यो यात्रामा आउने मिठा र नमिठा अनुभवहरूलाई सरर देखाउन मन लाग्छ। त्यो हिसाबमा म गम्भीर र बलियो दृष्टिकोण निर्माण गर्नसक्ने सर्जक नहुन पनि सक्छु। मलाई एउटा राम्रो प्रस्तुतीकरण गर्न प्रयास गर्ने सर्जकको रूपमा लिनु भए हुन्छ। तर के हो भने काम गर्दै जाँदा अन्तिममा क्लाइमेक्समा जुन संवाद गरिएको छ, त्यो संवाद यसको मूल आशय हो र त्यही संवादसम्म पुग्नलाई अगाडिका पृष्ठभूमिहरू तयार गरिएका हुन्।
अब त्यो संवाद गलत छ भने चाहिँ म गलत छु। मैले विचार, दृष्टिकोणलाई सन्तुलित गर्न सकेको छैन भने चाहिँ म गलत छु। होइन भने प्रत्येक दृश्यहरूलाई लिएर, प्रत्येक शब्दहरूलाई लिएर टिप्पणी गर्नु कलाप्रतिको कमजोर चेतना हो। नत्र भने एउटा कथालाई सरसर्ती देखाइएको छ। उसले पार गरेको घुम्तीहरूलाई देखाइएको छ। त्यो एउटा कथा भन्ने शैली हो। त्यसैले यो यौनकर्मीहरूको कथा होइन। यो फूलमायाको आधुनिक कथा हो।
यसभन्दा पहिले पनि तपाईंले पूर्वछापामार युवतीलाई यौनकर्ममा लागेको देखाएर विरोध खेप्नुभएको थियो। यसपालि त महिलालाई अझ तल्लो स्तरको लाञ्छना लगाइएको छ। यसले कुनै सकारात्मक सन्देश दिएको छैन। समाजमा महिलामाथि हुने हेपाहा प्रवृत्तिकै मलजल गरेको छ। तपाईं एकपटकको गल्तीबाट चेत्नु भएन भन्ने आरोप छ नि?
यो मलजल गरेको भन्ने कुरालाई अलि करेक्सन गर्नुपर्ला। हो समाजमा महिलाप्रति हुने हेपाहा प्रवृत्तिलाई देखाउन खोजिएको हो। पुरूष प्रवृत्तिलाई देखाउन खोजिएको हो। महिलामाथि गरिने नैतिक प्रश्नलाई देखाउन खोजिएको हो। सकम्बरी र फूलमायाले भोगिरहेका आधुनिक रहर, महत्वकांक्षा र अहिलेको समाजलाई देखाउन खोजिएको हो। तर मलजल चाहिँ कसरी भयो भन्ने कुरालाई एकपटक पुनर्विचार गर्नुपर्ला। यदि प्रस्तुतीकरणमा मैले बुझाउन नसकेको हो भने आत्मसमीक्षा गर्छु। तर मेरो नियतलाई हेर्नुहुन्छ भने मैले कहीँ पनि आफ्नो विचारलाई हाबी हुन दिएको छैन।
महिलाहरू यस्तै हुन् भन्ने खालको आफ्नो कुनै विचार गीतमा व्यक्त गरेको छैन। त्यहाँ पुरूषको दृष्टिकोण, पुरूषले गर्ने व्यवहार, एउटा महिलाले भोग्नुपरेको नमिठो भोगाइ देखाइएको छ। कहिलेकाहीँ पात्रहरूलाई सधैं विचार टाइपले देखाउँदा हामीलाई चित्त नबुझेको हुनसक्छ। केही मानिसहरूलाई समाज ठिकठाक छ, यस्ता पात्रहरू छैनन्, दुःख छैन, हिंसा छैन, विभेद छैन भनेर बुझ्ने हो भने त ठिकै छ। यदि त्यो हो भने सधैं राम्रो नै देखाउँला। राम्रो चरित्र, राम्रो मान्छेहरू मात्र देखाउँला। राम्रा गीतहरू मात्रै गाउँला। तर यदि एक प्रतिशत मात्र पनि यस्ता कथा छ भने त्यो कथा भन्न नपाउने हो? ती पात्रहरूलाई चित्रण गर्न नपाइने हो?
अन्तिममा तपाईंले यो गीत र यसको भिडिओलाई सकम्बरी शीर्षक दिनुभएको छ। पारिजातको उपन्यासकी सकम्बरीसँग जोड्न खोजेको कुरा भिडिओमै हेर्दा देखिन्छ। सकम्बरी नेपाली साहित्यमा सम्भवत: बलियो पात्र हो। त्यस्तो पात्रलाई तपाईंले आफ्नो गीतमा यति निरीह बनाउनुभयो भनेर भन्छन् नि!
शिरिषकी फूलकी सकम्बरी मलाई पनि एकदमै मनपरेको चरित्र हो। मेरो प्रेमिका हुन् सकम्बरी चाहिँ। त्यसैले त्यो पात्रलाई आफ्नो सिर्जनामा कहीँ न कहीँ मिसाउने हुटहुटी थियो। तर अहिले गरिएको सकम्बरीमा चाहिँ सकम्बरी पात्र आफैंमा शिरिषकी फूलकी पात्रको नयाँ भर्सनजस्तो केही होइन।
एउटा फूलामाया पात्रले शिरिषको फूल पढ्छिन् र उनलाई पढिरहेका बेलामा उसलाई कसैले नाम सोध्दा ऊ पात्रबाट प्रभावित भएर आफूलाई पात्रजस्तै ठानेर सकम्बरी नाम राखेकी हुन्। यो यत्तिकै एउटा प्रस्तुति विकास गर्दा प्रयोग गरिएको बिम्ब हो। एउटा पात्रको प्रभाव हो। तपाईं हामी पनि कुनै फिल्मको पात्रको नाम मनपर्यो भने त्यही नाम राख्छौं। नामलाई एउटा बिम्बात्मक रूपमा मात्र प्रयोग गरिएको हो।