चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन्।
चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरूलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रूपमा जानकारी गराउने जिम्मेवारीसहित बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो।
विगत २५ वर्षदेखि कला साहित्य सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारू भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन्।
मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला, महोत्सवलगायत गतिविधिहरू नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन्।
बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन्।