'कर्णाली आफैंमा सुन हो, हिरा हो भन्छन् हाम्रा नेताहरू। अब हामीले गहना बनाउनुपर्छ...।'
गायक सुरज पण्डित शुक्रबार साँझ पोखरामा सांगीतिक प्रस्तुति दिएर मञ्चबाट बाहिरिँदै थिए। कर्णालीका व्यथा सुनाउँदै मञ्चबाट बिदा लिएका सुरजलाई दर्शकले ओझेल पर्न दिएनन्। मञ्चमा बोलिएको माइकको आवाजभन्दा चर्को स्वरमा 'रेलको बाटो' बोलको गीत फेरि गाउन 'हुटिङ' गरिराखे।
दर्शकको हुटिङका बाबजुद युवा व्यवसायी सिरोज विजय कोइरालाले मञ्चबाट कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले हुम्लाको शिक्षाका लागि दस हजार रूपैयाँ सहयोग दिएको उद्घोष गरे। उनको उद्घोषलाई धन्यवाद दिएर फेरि दर्शकले सुरजलाई रेलको बाटो गीत गाउन 'वान्स मोर' भनिरहे।
दर्शकले लगातार माग गरेपछि सुरजले फेरि रेलको बाटो गीत गाए। फेरि उत्तिकै ताली पाए।
हुम्लाका विद्यार्थीलाई सहयोगार्थ पोखरामा शुक्रबार साँझ 'एजुकेट नेपाल प्रोजेक्ट' र 'कर्मा फ्लाइट्स फाउन्डेसन' ले सांगीतिक साँझ आयोजना गरेको थियो। सांगीतिक साँझमा गायक सुरज पण्डितसँगै गायक विनोद वानिया, सिडी विजय अधिकारी, सन्तोष बस्याल र अदिती शर्माले प्रस्तुति दिएका थिए। कार्यक्रममा हाँस्यकलाकार दीपक थापा र मोडल रोहण नेपालीको पनि प्रस्तुति थियो।
यसअघि रूकुमका विद्यार्थीलाई शौक्षिक सामाग्री सहयोग गरेपछि हुम्लाका विद्यार्थीलाई सहयोग गर्न सांगीतिक साँझ आयोजना गरेको एजुकेट नेपाल प्रोजेक्टका सोभित खाँणले बताए।
'रूकुमका स्कुलमा पुगेपछि हामीले अरू जिल्लामा पनि पुस्तकालय र शैक्षिक सामग्री लैजाने विचार गरेका हौं,' उनले भने, 'हुम्लापछि हामी फेरि रूकुम जाने योजनामा छौं।'
उनका अनुसार पोखरामा विभिन्न पेसा-व्यवसायमा रहेका युवाहरू आफैंले आर्थिक संकलन गरेर यसअघि रूकुमका स्कुल पुगेका थिए। यसपालि सांगीतिक कार्यक्रममार्फत थप आर्थिक संकलन गरेका हुन्। हुम्लाकै गीत गाएर चर्चित भएका गायक सुरजले उक्त कार्यक्रममा पारिश्रमिक नलिई प्रस्तुति दिएको उनले बताए।
रेलको बाटो गीतमार्फत हुम्लाका दुखद जनजीवन बाहिर ल्याएका सुरज अहिलेसम्म हुम्ला पुगेका छैनन्। उनी पनि उक्त शैक्षिक सहयोग कार्यक्रममा एजुकेट नेपाल प्रोजेक्ट मार्फत अब जाँदैछन्। हुम्लाका स्कुल र गाउँ पुगेर गीत गाउने चाहना रहेको उनले बताए।
'पहिलोपटक हुम्ला जाँदैछु। स्कुल र गाउँमा सहयोगसहित गीत गाउने सोचमा छु,' उनले शनिबार सेतोपाटीसँग भने, 'गीतमार्फत छोराछोरी पढाउनुपर्छ भनेर जोड दिन चाहेको छु।'
उनले कर्णालीमा शिक्षाको चेतना जगाउने खालको नयाँ गीत ल्याउने योजना रहेको पनि बताए।
हुम्लाका दुर्गम गाउँमा पुगेर शैक्षिक सामग्री लिएर छिट्टै जाने योजना रहेको एजुकेट नेपाल प्रोजेक्टका अध्यक्ष कृष्ण पौडेलले बताए। हुम्लाका स्कुल र गाउँमा शैक्षिक चेतना जगाउने पनि उनीहरूको उद्देश्य छ।
जुम्लाको चन्दननाथ नगरपालिकामा जन्मिएका गायक सुरजले हुम्ला, जुम्ला, मुगु लगायत कर्णालीका जिल्लाको अवस्था उस्तै रहेको सुनाए।
'स्कुल भवन छ, छानो छैन। शिक्षक भएका ठाउँमा विद्यार्थी छैनन्, विद्यार्थी भएका ठाउँमा शिक्षक छैनन्,' उनले भने, 'कर्णालीमा शिक्षक बस्नै मान्दैनन्।'
उनका अनुसार बिहान-बेलुकाको छाक टार्नु नै पहिलो प्राथमिकता भएकाले शिक्षा प्राथमिकतामै पर्दैन। छरिएर रहेका गाउँबाट स्कुल टाढा भएकाले घन्टौं हिँड्नुपर्छ। गाउँमा मात्र नभएर स्कुलमा पनि शैक्षिक वातावरण नभएको उनले बताए।
'कर्णालीमा पढाइ नै हुँदैन। तीन महिना त हिउँ नै पर्छ,' उनले भने, 'कहिलेकाहीँ पढाइ हुँदा पनि धेरैको पढाउन सक्ने हैसियत छैन।'
कक्षा ५ सम्म अध्ययन गर्दा उनी प्रथम हुन्थे। कक्षा ६ पुगेपछि स्कुल छाड्ने निर्णयमा पुगेको उनले बताए। अर्को स्कुल गएपछि मात्र आफूले पढाइलाई निरन्तरता दिन सकेको उनको अनुभव छ।
'म राम्रो विद्यार्थी थिएँ,' उनले भने, '६ कक्षा गएपछि मासिक शुल्क सय रूपैया तिर्न नसकेर शुल्क नलाग्ने अर्को स्कुलमा पढ्न गएँ।'
आमाको अवस्था हेर्दा घरीघरी पढाइ छोड्न मन लागेको उनले सुनाए।
कर्णालीका बालबालिकालाई स्कुल पुर्याउन सरकारी नीति नै फेर्नुपर्ने उनको सुझाव छ।
'बुबाआमाले छोराछोरी स्कुल पठाउन सक्ने अवस्था हुनुपर्यो। पढाउनुपर्छ भन्ने चेतना दिनुपर्यो,' उनले भने, 'अनि बल्ल स्कुलमा विद्यार्थी अडिन्छन्।'
कर्णालीका पढेलेखेका युवाहरू पनि जागिर खानमा सीमित हुन पुगेको उनले बताए। कर्णालीमा पढेलेखेका मान्छे सिर्जनशील र उद्यमशील काममा लाग्नुपर्ने उनको सुझाव छ। आफूले पढाइ छाडेको भए किसानी गर्ने उनले बताए।
'मैले पढ्न छाडेको भए अहिले किसान हुन्थेँ होला। हाम्रो स्याउ फर्म छ जुम्लामा,' उनले भने, 'अरू व्यवसाय गर्न हामीसँस पैसा थिएन।'
जुम्ला सदरमुकामसम्म कालोपत्रे मोटरबाटो पुगेकाले स्याउ बजार पुर्याउन सहज भएको उनले बताए। स्कुल पढ्दादेखि नै गीत गाउन थालेका सुरजले १२ वर्षअघि पहिलो गीत रेकर्ड गराएका थिए। नौ वर्षअघि व्यक्तिगत कामका लागि पोखरा आएका सुरज त्यसपछि सांगीतिक कार्यक्रममा भाग लिन शुक्रबार पोखरा आएका हुन्।
अब संगीतबाटै चेतना जगाउने आफ्नो चाहना रहेको उनले सुनाए।
'संगीत मेरो पेसा होइन, प्यासन हो,' उनले भने, 'संगीतबाटै समाजमा केही योगदान दिऊँ, परिवर्तन गरौं जस्तो लाग्छ।'