अभिनेता राजेश हमाल र धिरेन शाक्यबीच सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको धेरै भइसकेको छ।
उनीहरू फिल्मी वा अन्य कार्यक्रममा एकसाथ कमै देखिने गरेका थिए।
राजेश र धिरेन गृहजिल्ला पाल्पामा भने संगै देखिए। उनीहरूलाई आइतबार तानसेन नगरपालिकाले स्वागत कार्यक्रम राखेको थियो।
सोमबार पद्म पब्लिक नमुना माध्यमिक विद्यालयको स्वागत कार्यक्रममा उनीहरू सरिक भए।
यो विद्यालयका पूर्व प्रध्यानाध्यापक स्वर्गीय चुडा बहादुर हमालका छोराका रूपमा राजेशलाई र पूर्व विद्यार्थीका रूपमा धिरेनलाई स्वागत एवं सम्मान गरिएको थियो।
त्यसक्रममा राजेशले बुवाको विद्यालयमा आउने धोको पूरा भएको बताए। 'बुवा यहाँ प्रिन्सिपल हुँदा म जन्मिएको थिएँ। त्यसको १० महिनामै हामी काठमाडौं गएका थियौं। त्यसकारण पाल्पाको अनुभव धेरै पछि मात्रै भयो,' राजेशले भने, 'तर पनि मन, मस्तिष्कमा जहिल्यै पनि पाल्पा हुन्थ्यो। किनकि बुवा, आमा दुवै पाल्पाको हुनुहुन्थ्यो।'
उनले यो पटकको पाल्पा भ्रमण आफ्नो लागि पृथक र विशेष रहेको समेत बताए।
धिरेनले आफूले पढेको विद्यालयमा प्रवेश गर्दा एकदमै खुसी लागेको बताए। 'धेरैपछि म पढेको स्कूलमा आउँदा कताकता भावुक पनि भएको छु,' उनले भने।
उनले विद्यालय पढ्दाको अनुभव समेत सुनाए। राजेश र धिरेनले विद्यालय अगाडि तस्बिर समेत खिचाए। तानसेन बजार संगै घुमघाम समेत गरे। केही दिनको तानसेन बसाईंमा राजेश आफ्नो पुख्यौली थलो अर्चले समेत पुगे।
पाल्पाका सामाजिक अभियन्ता सन्दीप रानाले राजेश र धिरेनलाई एकसाथ पाल्पा लैजाने बन्दोबस्तो मिलाएका थिए। 'यात्रा नेपाल' नामक वृत्तचित्र निर्माणको शिलशिलामा यो भ्रमण भएको हो।
सातै प्रदेशमा रमणीय, पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूको उजागर गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गर्न लागिएको बताइएको छ।
राजेश र धिरेनले एकसाथ थुप्रै फिल्ममा सहकार्य गरेका छन्। उनीहरूको सहकार्य रहेका 'सिमाना, भीष्म प्रतिज्ञा,अर्जुन' लगायतका फिल्मले राम्रो व्यापार गरेका थिए। उनीहरूबीच सहकार्य नभएको भने वर्षौ भइसकेको छ।