नीता ढुंगाना र हरिहर अधिकारीको जोडीको फिल्म 'ह्रस्व दीर्घ' निर्माण घोषणादेखि नै चर्चामा छ। यो फिल्ममा चर्चित भारतीय कलाकारहरूसँगै नेपालबाट फ्रण्टलाइनमा नाम चलेका अनुहारहरू छन्।
यसैबीच यो फिल्ममा अभिनेत्री रेखा थापालाई समेत दर्शकले देख्न पाउने भएका छन्।
प्राप्त तस्बिरमा रेखालाई 'ह्रस्व दीर्घ' को छायांकन सेटमा देख्न सकिन्छ। जहाँ निर्देशक चन्द्र पन्त र निर्मात्री एवं अभिनेत्री नीता ढुंगानासँग स्क्रिप्टमा छलफल गरिरहेको देखिन्छ।
निर्देशक चन्द्र पन्तले फिल्ममा रेखाको छोटो तर महत्वपूर्ण उपस्थित रहेको बताए। हलमा आउँदा रेखाबाट दर्शकले ठूलो सरप्राइज पाउने चन्द्रको दाबी छ।
नीता फिल्मस्को ब्यानरमा तयार यो फिल्ममा चर्चित भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान, प्रदीप रावतको अभिनय छ।
त्यस्तै, निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायत नाम चलेका दर्जन बढी कलाकारहरूले अभिनय गरेका छन्।
सोसल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ। अभिनेता हरिहरको कथामा तयार फिल्ममा बलिउडका स्थापित सिनेमाटोग्राफर कवीरलालको छायांकन छ। फिल्ममा मित्र डि. गुरूङको सम्पादन छ।
निर्मात्री नीताले हाल फिल्मको प्रोष्ट प्रडक्सनको काम चलिरहेको र एउटा गीत छायांकनको लागि टिम मुम्बई जाने तयारीमा रहेको बताइन्। उक्त डान्सिङ नम्बरलाई बलिउडका चर्चित कोरियोग्राफरले नृत्य निर्देशन गर्ने नीताले बताइन्।
यो फिल्म संविधान दिवसको अवसरमा असोज ३ गते रिलिज हुँदैछ।