दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'घरज्वाइँ' ले बक्स अफिसमा सुखद् सुरूआत गरेको छ।
शुक्रबार बिहानी शोमा पानीले केही असर गरे पनि दिउँसोबाट फिल्मले पिकअप लिएको थियो। शनिबार बिहानी शोबाटै फिल्मको व्यापार सुखद् रहेको वितरक रोहित कट्टेलले बताए।
उनका अनुसार शनिबार बिहानी शोमा ८० प्रतिशतसम्म देखिएको अकुपेन्सी १२ बजेपछिका शोमा शतप्रतिशतसम्म थियो। धेरै हलले शनिबारका लागि फिल्मको शो समेत थपेका थिए।
शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठूला सहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखिएको निर्माता जनक घर्ती मगरले बताए।
फिल्मले दर्शकको साथ पाएपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले धन्यवाद दिएका छन्।
डेब्यु निर्देशक अनिल बुढा मगरले पहिलो फिल्ममा नै दर्शकबाट यो स्तरको साथ र सहयोग पाउँदा आगामी दिनमा अझ राम्रो फिल्म निर्माण गर्नुपर्ने चुनौती थपिएको बताए।
मगर संस्कार र संस्कृतिलाई उठाउन गरेको फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, लगायतको अभिनय छ।