फिल्म 'पूर्ण बहादुरको सारंगी' को पहिलो चरणको छायांकन सकिएको छ।
ओखलढुंगा जिल्लाको रूम्जाटार क्षेत्र आसपासमा ३६ दिनमा फिल्मको पहिलो चरणको छायांकन सकिएको हो।
फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएको छ।
दोस्रो सेड्यूलको छायांकन १० दिनपछि सुरू गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।
पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शकका लागि ‘पूर्ण बहादुरको सारंगी’ विशेष हुने बताए।
यो फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली लगायतको मुख्य भूमिका छ। विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरूङ र देशभक्त खनाल लगायतका कलाकारहरूले समेत अभिनय गरेका छन्। बाल कलाकारमा जान्भी पौडेल र स्वायम् केसीको अभिनय छ।
यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो।
सोसल–ड्रामा जनरा रहेको फिल्मका निर्देशन सरोज पौडेल हुन्। फिल्ममा उनी स्वयमको कथा रहेको छ। फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानीकर्ता हुन्। फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ।
फिल्मलाई २०८२ सालमा विश्व बजारमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।