विपिन कार्की अभिनीत फिल्म 'तेल भिसा' को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई मंसिर ७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
यसअघि भदौ २९ गते रिलिज हुने भनिएको फिल्म अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ।
शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा गरिएको छ। सोमबारदेखि चितवनमा दोस्रो चरणको छायांकन सुरू गर्नुपूर्व फर्स्टलुकसहित नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो।
उपयुक्त मिति लागेर नै उक्त मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरेले बताए।
सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ। उनी जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएका छन्। पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ।
फिल्ममा बुद्धि तामाङको पनि अभिनय छ।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’ मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ।
आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन रहेको फिल्मलाई अजय खड्काले सम्पादन गर्नेछन्।