साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'नम्बरी सुन' ले उपहार योजना ल्याएको छ।
सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार प्रदान गरिने जानकारी दिए।
'वितरकसँगको सल्लाहमा यो योजना अघि सारेका हौं,' खातीले भने, 'खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्नेछौं।'
लक्की– ड्र मार्फत उपहार प्रदान गरिने उनले बताए।
सुन व्यवसायी खातीले पहिलोपटक फिल्ममा लगानी गरेका हुन्। उनले आफ्नो पेशासँग सम्बन्धित कथाको फिल्म भएकाले लगानी गरेको बताए।
निर्देशक राजु गिरीले सुनको इतिहासलाई फिल्मले देखाउने प्रयास गरेको बताए। उनका अनुसार ६०-७० वर्ष अगाडिको कथालाई यसमा देखाउन खोजिएको छ।
'कर्मसियल हिसाबले नै फिल्म बनाएका छौं। मायाप्रेम, सेन्टिमेन्टल, कमेडी सबै समेटेर प्याकेजिङ गरेका छौं,' गिरीले भने, 'दर्शकले पक्कै रूचाउनुहुनेछ।'
अभिनेत्री नम्रता सापकोटाले फिल्ममा आफूले ग्रामीण भेगको सोझी युवतीको भूमिका निर्वाह गरेको बताइन्।
'उसलाई प्रेमबाहेक अरू केही थाहा छैन। प्रेम पाउनका लागि जोसँग पनि लड्न अग्रसर हुन्छ, तर एकदमै सोझी छ,' नम्रताले आफ्नो भूमिकाबारे भनिन्।
'डेसान' प्रदर्शनको एक वर्षपछि 'नम्बरी सुन' मार्फत दर्शकमाझ आउन लागेकी उनले फिल्मलाई लिएर उत्साहित रहेको बताइन्।
अभिनेता विनोद न्यौपानेले फिल्ममा आफू सहायक भूमिकामा रहेको बताए। 'हात्तीछाप' पछि यो फिल्ममार्फत दर्शकमाझ आउन लागेका उनले भने, 'हरेक फिल्ममा मेरो भूमिकालाई दर्शकले रुचाउनुहुन्छ। यसमा पनि मेरो कामलाई रूचाउनुहुन्छ भन्ने लाग्छ।'
देशका विभिन्न जिल्लामा च्यारिटी एवं विशेष शोपश्चात फिल्मलाई देशव्यापी प्रदर्शनमा ल्याउन लागिएको हो।
यसमा गौरव पहारी, सरोज खनाल, नम्रता सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।
शिवम अधिकारीको कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा सरोज खाती, सविन खाती, मनोज रिजाल छन्।