अभिनेता पृथ्वीराज प्रसाईंले पाँच वर्षपछि फिल्ममा कमब्याक गरेका छन्।
फिल्म 'डोली' रिलिजको पाँच वर्षपछि उनी 'ईश्वर' मार्फत दर्शकमाझ आउन लागेका हुन्। राजु गिरीको निर्देशन रहेको यो फिल्म यही साउन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।
यसमा पृथ्वीराजले सागर नामक पात्रको भूमिका निर्वाह गरेका छन्।
उनले पात्रबारे भने, 'जो एक लभर ब्वाई हुन्छ। उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरूमा सागर पनि नेगेटिभ नै हुन्छ। तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ।'
उनका अनुसार ईश्वर पारिवारिक कथाको फिल्म हो। फिल्मले उनले सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिका निर्वाह गरेका छन्।
अनु शाहसँग पृथ्वीराजले केही भिडिओमा सहकार्य गरे पनि फिल्ममा पहिलोपटक काम गरेका हुन्। भिडिओमा सहकार्य गरेकाले फिल्ममा काम गर्न अप्ठ्यारो नभएको उनले बताए।
फिल्म ‘डोली’ पछि आफूलाई कुनै फिल्मबाट अफर नआएको उनी बताउँछन्।
'म काम माग्न कतै पनि गइनँ। म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ। घर, व्यवसाय र जिममै समय बिताएँ। तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो,' उनले भने।
पृथ्वीराजलाई अब कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा छ। उनले भने, 'किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो। डोलीमा एउटा कन्टेन्टमा काम गरियो। अब कमेडी जनरामा काम गर्न मन छ।'
'ईश्वर' मा पृथ्वीराज र अनुका साथमा ध्रुव थापा, क्रिष्टी गुरूङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरूङ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतको अभिनय छ।
लक्ष्मी कुवँर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता हरि बहादुर थापा हुन्।