निर्देशक दिवाकर भट्टराईका 'मायाबी' र ‘हनी बनी’ गरी दुईवटा फिल्म प्रदर्शनमा आउन बाँकी छन्।
यी फिल्मको रिलिज मिति छिट्टै घोषणा गर्ने तयारी छ।
यतिबेला दिवाकर दुईवटा नयाँ प्रोजेक्टको तयारीमा छन्। जसमध्ये एउटा एक्सन रिभेन्ज स्टोरीमा बनाउन लागेको उनले बताए।
साउनको अन्तिमबाट छायांकन गर्ने योजनाका साथ उनले यो फिल्मको तयारी गरिरहेका छन्। 'यसको स्क्रिप्ट फाइनलको चरणमा छ। एक हप्ताभित्र टाइटल घोषणा गर्ने योजना हो,' उनले भने।
फिल्मका लागि केही कलाकारसँग कुराकानी भइरहेको छ। अभिनेता राजेश हमालसँग पनि छलफल गरेका छन्।
'उहाँसँग केही चरणको छलफल भएको हो। फिल्मलाई लिएर उहाँ उत्साहित नै हुनुहुन्छ। यद्यपि, स्क्रिप्ट सकेपछि मात्रै बाँकी कुरा तय हुनेछ,' दिवाकरले भने।
फिल्ममा मोडल सनिशा भट्टराईको अभिनय रहने चर्चा रहे पनि फाइनल भइनसकेको उनले बताए।
दिवाकरले अर्को फिल्म भने लभस्टोरी जनरामा बनाउने तयारी गरेका छन्।