अभिनेता दयाहाङ राई फिल्म 'कार्साङ' को कार्यशाला (वर्कसप) मा जोडिएका छन्।
उनी वर्कसपमा जोडिएसँगै निर्माण टिमले फिल्मको छायांकनको तयारी समेत सुरू गरेको छ।
केही महिनाअघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गरेर शुभमुहूर्त गरिएको फिल्म आगामी साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा दयाहाङसहित सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरीको अभिनय रहनेछ। सिर्जना र छिरिङले यसै फिल्ममार्फत डेब्यु गर्न लागेका हुन्।
सिर्जनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्। उनी टेलिभिजन रियालिटी सो 'डान्सिङ स्टार नेपाल सिजन २' का विजेता समेत हुन्।
फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ।
फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन्। यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका उनको यो पहिलो फिचर फिल्म हुनेछ। फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेनछ।
यस फिल्मको निर्मातामा पुरूषोत्तम प्रधान छन्। फिल्ममा प्रधानकै डिओपी रहनेछ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा फिल्मलाई छायांकन गरिने निर्माण पक्षले जनाएको छ।