जितु नेपाल र नीति शाहको मुख्य अभिनय रहेको फिल्म 'ज्वाइँ साब' को छायांकन सकिएको छ।
मकवानपुरको चित्लाङ र चितवनको सौराहा आसपासमा ३० दिनमा गीतबाहेकको सम्पूर्ण छायांकन सकिएको निर्देशक बसन्त निरौलाले बताए।
'४० दिनको टार्गेट राखेर फ्लोरमा निस्किएका थियौं। कलाकार र प्राविधिकहरूको साथले ३० दिनमै सक्यौं,' उनले भने, 'पानीले २/३ दिन असर गरे पनि सहज तरिकाले नै सुटिङ भयो।'
फिल्मको गीतलाई भने काठमाडौंमै खिचिने निरौलाले बताए।
उनका अनुसार फिल्म रमाइलो बनेको छ।
'कमेडी जनराको भए पनि यो सामाजिक, पारिवारिक फिल्म हो,' उनले भने। फिल्ममा जितु र नीतिको जोडीलाई दर्शकले विशेष रुपमा देख्न पाउने उनले बताए।
फिल्ममा उनीहरूको साथमा बुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत (जिरे)लगायत कलाकारको अभिनय छ।
सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको फिल्ममा राजकुमार पण्डित प्रस्तुतकर्ता छन्। मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ फिल्मको निर्माता हुन्।
श्याम तामाङको डिओपी रहेको ‘ज्वाइँ साब’ रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो। विजय बस्याल यसको कार्यकारी निर्माता हुन्।
फिल्मलाई तिहारमा प्रदर्शनमा ल्याइने जनाइएको छ।