प्रदीप खड्का अभिनीत फिल्म 'एक्टर' को छायांकन ४५ दिनमा सकिएको छ।
वैशाख अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै सुरु गरिएको छायांकन दुई चरण गरी पूरा गरिएको हो।
एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले बताए। उनका अनुसार पोखरामा १० दिन र काठमाडौंमा ३५ दिन छायांकन गरिएको हो।
'समय लगाएरै छायांकन सकिएको छ। सुटिङ अवधिभर कलाकार र प्राविधिकहरूको साथ मिल्नाले सोचेअनुरूप नै काम भएको छ,' उनले भने।
अब बाँकी गीतको छायांकन युरोपमा गर्ने तयारी रहेको उनले बताए। राजन भुसालको डेब्यु निर्देशन रहेको फिल्ममा प्रदीपसहित दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यो पहिलो फिल्म हो। राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन्। प्रदीपले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन्।
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ।
एनिस भुसाल सह–निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्। यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ।
फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ।