अभिनेता मुकुन्द श्रेष्ठले लामो समयपछि फिल्ममा कमब्याक गर्ने भएका छन्।
'डरलाग्दो खलपात्र' को भूमिकाबाट ख्याती कमाएका उनले एक दशकपछि फिल्ममा पुनरागमन गर्न लागेका हुन्।
लोकप्रिय हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले बनाउन लागेको फिल्म 'लाज शरणम्' मा मुकुन्दले शीर्षमध्येको भूमिकामा अभिनय गर्ने भएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित फिल्मको निर्माण घोषणा कार्यक्रममा यो कुराको जानकारी दिइएको हो। जेपीटी क्रियशनको ब्यानरमा बन्न लागेको फिल्मलाई कुमार कट्टेल जिग्रीले लेखन एवं निर्देशन गर्दैछन्।
फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, माला लिम्बु, विजय बराल, कमलमणि नेपालसहित मुकुन्द श्रेष्ठले मुख्य भूमिकामा अभिनय गर्नेछन्।
भदौको तेस्रो सातादेखि छायांकनमा जाने फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ।
फिल्मलाई शुभकामना दिन पुगेका अभिनेता हरिवंश आचार्यले अग्रज कलाकारलाई सम्मानपूर्वक पूनरागमन गराउन लागिएकोमा खुसी लागेको बताएका थिए।
अभिनेता मुकुन्द श्रेष्ठले देउता, अर्जुन, कस्तो साइनो, सन्तानको माया, धड्कन, सपना लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन्।
उनले पछिल्लो समय काम गरेको फिल्म 'कोहिनूर' थियो। डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही एपिसोडमा उनी देखिएका थिए।