दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ दोस्रो सातामा चलिरहेको छ।
हिजोदेखि दोस्रो सातामा प्रवेश गरेको फिल्म असार २८ गते रिलिज भएको थियो।
सुरूवाती दुई दिन (शुक्रबार र शनिबार) मा फिल्मले डेढ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण निर्माण पक्षले सार्वजनिक गरेको थियो।
फिल्मले पहिलो साता ३ करोड रूपैयाँ कलेक्सन गरेको वितरक रोहित कट्टेलले बताए। यो कमाइ गत बिहीबारसम्मको हो।
दोस्रो शुक्रबार र शनिबार पनि काठमाडौंसहित मुख्य सहरमा फिल्मको अकुपेन्सी सुखद् रहेको वितरक कट्टेलले बताए। यद्यपि हिजो र आजको कलेक्सन कति भयो भन्ने विवरण प्राप्त नभइसकेको बताए।
मनसुन यामको बाबजुद पनि यो फिल्म हेर्न हलमा देखिएको दर्शकको उपस्थितिलाई उत्साहपूर्ण मानिएको छ।
अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको यो फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ।
फिल्मका निर्माता जनक घर्ती मगर हुन्।