विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म 'तेल भिसा' को छायांकन सकिएको छ।
अमेरिका र नेपालमा ३५ दिनमा छायांकन सकिएको हो।
७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको निर्देशक शंकर घिमिरेले बताए।
फिल्मको 'इन्डक्ल्याप' कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित थिइन्।
उनले चितवनको भरतपुरमा फिल्मको छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिइन्।
फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू फिल्म हेर्न उत्सुक रहेको समेत बताइन्।
यो फिल्मबाट निर्देशक शंकर घिमिरेले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैैछन्।
फिल्ममा विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिएका छन्। विपिन र वर्षाका साथमा ऋचा घिमिरे, पूजा चन्द र बुद्धि तामाङ मुख्य भूमिकामा छन्।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता, सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी रहेको फिल्मलाई अजय खड्काले सम्पादन गर्नेछन्।
फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ।