फिल्म 'बोक्सीको घर' मा समावेश 'बुझिनँ मैले' बोलको गीत निकै रूचाइयो। यसको अडिओसँगै भिडिओलाई दर्शकले उत्तिकै रूचाए।
भिडिओतर्फ कोरियोग्राफीको समेत खुलेर प्रशंसा भयो। छोटो समयमै ३ करोड बढी भ्युज पाएको गीतलाई कोरियोग्राफी एवं निर्देशन गरेका थिए, सुनिल क्षेत्रीले।
यसअघि विशेष गरेर लोकदोहोरी गीतमा सक्रिय उनले कोरियोग्राफी एवं निर्देशन गरेका थुप्रै गीत हिट छन्।
'बोक्सीको घर' को 'बुझिनँ मैले' हिट भएपछि भने सुनिल फिल्ममा पनि उत्तिकै खोजिन थालेका छन्।
यतिबेला उनले 'हेभीवेट' फिल्मका गीतमा कोरियोग्राफी गरिरहेका छन्।
विराज भट्टको फिल्म '१२ गाउँ' को गीतलाई कोरियोग्राफी गरिसकेका छन्।
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पञ्जा' को गीतको कोरियोग्राफी पनि सकेका छन्।
सन्तोष सेनको फिल्म 'बलिदान' को गीतलाई पनि सुनिलले कोरियोग्राफी गर्ने तयारी छ।
मोडलिङ समेत गर्दै आएका सुनिलको डान्स स्टेपलाई लिएर चर्चा हुने गरेको छ।
सेतोपाटीसँगको कुराकानीमा उनले अबका दिनमा म्युजिक भिडिओ र फिल्मी गीतको कोरियोग्राफी यात्रालाई मिलाएर अगाडि लैजाने बताए।