फिल्मकी चर्चित अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यु गर्ने भएकी छिन्।
उनले विमल सुवेदीको निर्देशन रहने नाटक 'हिटलर आउँदैछ' मार्फत् रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्।
वर्षासँगै जोयस पाण्डेको मुख्य भूमिका रहने नाटकको मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ।
नाटकलाई विमल सुवेदी र जोयशले मिलेर लेखेका हुन्। जोयश फिल्म 'साँघुरो' का निर्देशक हुन्।
आइतबार अमेरिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातीप्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकबारे जानकारी दिइएको थियो।
कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन्। यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए।
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए।
उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपालीभाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए।
नाटक 'हिटलर आउँदैछ' मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए।
'म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ। यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ। यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ। यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौं,' उनले भने।
उनले आफूसँग २० बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताउँदै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्व बजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्न सक्ने भइसकेको बताए।
जोयस पाण्डेले आफ्नो परिचय निर्देशकका रूपमा स्थापित रहे पनि आफूले कलाकारको रुपमा थुप्रै नाटक गरेको स्मरण गरे। उनले निर्देशक बन्नुअघि आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको जानकारी गराए।
'मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ। तसर्थ विमलजीलाई भेटेपछि फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो र यसमा सहलेखनसँगै मुख्य अभिनेताका रुपमा पनि म जोडिएको छु,' उनको भनाइ थियो।
निर्देशक विमलले नाटकले भुटानी शरणार्थीको राजनीतिक र सामाजिक विषयसँगै यो समुदायमा देखिएको मानसिक स्वास्थ्यको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए। म्युजिकल डार्क कमेडी विधाको यो नाटकलाई अन्तर्राष्ट्रिय ब्रडवेको मापदण्डअनुसार तयार गरिएको छ।
थुप्रै फिल्ममा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन्। हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन्।
'नाटकबाट आएको धेरै कलाकारसँग फिल्ममा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो। तर यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु। मेरा पहिलो नाटक नै नेपालका उत्कुष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन। साथै नेपालका उत्कुष्ट निर्देशक जोयस पाण्डेसँगै नाट्ययात्रा सुरू गर्नुले मलाई उत्साहित बनाएको छ। यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु,' उनले भनिन्।
नाटक अगस्ट महिनाको २३ बाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वल्र्ड प्रिमिएर हुनेछ र यसलाई अमेरिकाकै विभिन्न स्थान लगायत विश्वका अन्य देशमा मञ्चन गरिनेछ। नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए।
अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ। साथै यसलाई सनसाइन तेकवान्दो एण्ड डान्स एकेडेमी लागयतका विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछ।
यसको कुल लागत दुई करोड नेपाली रूपैयाँ रहेको ह्याप्पीहोम स्टुडियोका निर्देशक जोयश पाण्डे र कार्यकारी निर्माता राकेश भट्टराईले बताए।
न्यूयोर्कमा अध्यापन गराउने ताइवानका फिल्ममेकर, निर्देशक चिनआउवाउले पनि यसमा सहकार्य गरेका छन्। यस नाटकमा नेपाल, भुटान तथा अमेरिकालगायत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका छन्।