नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ।
'रिटिङ-रिटिङ नबजाऊ बिनायो', 'वल्लो खोलो पल्लो खोलो' जस्ता दर्जनौं कालजयी लोक गीतका गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो।
'उहाँ परिवारसँग खाना खाँदै हुनुहुन्थ्यो, एक्कासि ढलेर बेहोस हुनुभएछ,' दमक १ फाल्गुनन्द चोकस्थित उनका छिमेकी शंकर बस्नेतले भने, 'उहाँ बेहोस भएपछि तत्कालै दमक अस्पताल लगियो। उहाँलाई चिकित्सकले मृत घोषणा गरे।'
जसै चिकित्सकले जोशीलाई मृत घोषणा गरे, उमेरले नब्बे छेउछाउ पुग्नै लाग्दा पनि झापामा रहेर लोक संगीतको सेवा गरिरहेका उत्साही सर्जकको सिर्जनशील जीवनयात्रा समाप्त भएको छ।
'रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो' भन्ने गीतमार्फत नेपाली संगीत प्रेमीको मनमा बस्न सफल गायक जोशीको 'वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हो रानाज्यू' भन्ने गीत उत्तिकै लोकप्रिय छ।
धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका जोशी पछिल्लो समय झापामा बस्थे। दुई छोरामध्ये कान्छालाई तीन वर्ष अगाडि र एक दशक अगाडि पत्नी गुमाएर पारिवारिक शोकमा रहेका जोशी पाको उमेरमा पनि गीत संकलनमा सक्रिय थिए।
'केही दिनदेखि शरीरमा कमजोरी महसुस भएपछि उहाँ घर नजिकैको दमक अस्पतालमा उपचार गराइरहनुभएको रहेछ,' उनका छिमेकी बस्नेतले भने, 'दुई-तीन दिनदेखि घरैमा रहनुभएको उहाँ साँझ अचानक ढल्नुभएको रहेछ।'
जोशीले पहिलोपटक २०१३ सालमा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर रेडियो नेपालबाट गायन यात्रा आरम्भ गरेका थिए।