मगर समुदायको कथामा बनेको फिल्म 'घरज्वाइँ' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।
दयाहाङ राई र मिरूना मगर अभिनीत यो फिल्म असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो।
यो फिल्मको कमाइ पनि उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमले दुई दिनमा डेढ करोड ग्रस कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसयताको कलेक्सन विवरण भने सार्वजनिक गरिएको छैन।
मनसुन यामको बाबजुद पनि यो फिल्म हेर्न हलमा देखिएको दर्शकको उपस्थितिलाई उत्साहजनक मानिएको छ।
अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ।
जनक घर्ती मगर फिल्मका निर्माता हुन्।
दुई नेपालीसँगै भारतीय फिल्म पनि रिलिज
शुक्रबारदेखि हलमा नेपाली फिल्म 'ईश्वर' र 'ब्ल्याक छायाँ' संगै भारतीय फिल्म 'रायन' पनि रिलिज भएको छ।
राजु गिरीको निर्देशन रहेको 'ईश्वर' अन्तरजातीय प्रेमकथामा बनेको छ।
यसमा पृथ्वीराज प्रसाईं, अनु शाह, ध्रुव थापा, क्रिष्टी गुरूङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरूङ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतको अभिनय छ।
दिव्या कंगना फिल्मसको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्तामा लक्ष्मी कुँवर थापा छिन् भने निर्माता हरिबहादुर थापा हुन्।
फिल्म 'ब्ल्याक छाँया' लाई आरएल लामा मोक्तानले निर्देशन गरेका हुन्।
यसमा निर शाह, सुनिल थापा, शोभित बस्नेत, सलोन बस्नेत, जाहन्वी बस्नेत, धीरेन शाक्य, राजेन्द्र खड्गी, रवीन्द्र झालगायतको अभिनय छ। फिल्म प्रेमकथामा बनेको छ।
शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको 'रायन' दक्षिण भारतीय अभिनेता धनुष अभिनीत एवं निर्देशित फिल्म हो।
एक्सन थ्रिलर यो फिल्मलाई धनुष स्वयंले लेखेका हुन्। करिअरमा ५० बढी फिल्ममा अभिनय गरेका उनको यो दोस्रो निर्देशकीय सिनेमा हो।
फिल्ममा एस जे सूर्या, प्रकाश राज, सेल्वाराघवन, सन्दीप किशनलगायतको पनि अभिनय छ।
सन पिक्चर्सको तर्फबाट कलानिथी मारनले फिल्मलाई निर्माण गरेका हुन्। यसको बजेट सय करोड रहेको बताइएको छ।