गायिका मेनुका पौडेललाई चितवनमा विभिन्न संस्थाहरूले सम्मान गरेका छन्।
उनलाई देवघाटधाममा रहेको धर्मदर्शन आश्रमले नगद ५१ हजार १ रुपैयाँसहित धर्मदर्शन कला–संस्कृति–२०८१ सम्मान प्रदान गरेको थियो।
धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा गायिका पौडेललाई सम्मान गरेको हो।
दृष्टिविहीन गायिका पौडेलले भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट प्रस्तुति देखाएकी थिइन्।
इन्डियन आइडलमा उनी उत्कृष्ट दशभित्र परेकी थिइन्।
फाउण्डेशनका प्रमुख पंडित कुबेर सुवेदीले भजन र संगीतको माध्यमबाट समाज रुपान्तरणमा योगदान दिएकाले गायिका पौडेललाई सम्मान गरिएको बताए।
उनलाई नरायणी कला मन्दिरले पनि सम्मान गरेको थियो। ६२ वर्षअघि नारायणघाटमा स्थापना भएको कला मन्दिरले कलाकारिताको प्रवर्द्धनका लागि काम गर्दै आएको छ।
संघका अध्यक्ष रोहितकुमार श्रेष्ठले गीत, संगीतको माध्यमबाट देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकोले गायिका पौडेललाई कलामन्दिरमै बोलाएर सम्मान गरिएको बताए।