ओटीटी प्लाटफर्म 'कान्तिपुर सिनेमाज' ले मिनी सिरिज 'द नाइट डायरीज' को स्ट्रिमिङ सुरू गरेको छ। गत बिहीबारदेखि सुरू निःशुल्क स्ट्रिमिङ १६ गते बुधबारसम्म हुनेछ।
काठमाडौं सहरमा बस्ने ४ युवा र ४ जना युवतीको एक रातको कथामा यो मिनी सिरिज बनाइएको हो। यसमा युवापुस्ताको प्रेम, स्नेह, महत्वाकांक्षा र सपनाको कथा बुनिएको छ।
कान्तिपुर सिनेमाजका लागी कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरूको समूहले तयार पारेको सिरिजमा ४ एपिसोड छन्।
'द नाइट डायरीज' का लेखक तथा निर्देशक सनोल दास हुन्। उनी कान्तिपुर फिल्म एकेडेमीका फिल्म ग्राजुएट पनि हुन्। उनले थुप्रै कलेज प्रोजेक्ट र सर्ट फिल्महरू बनाएका छन्। उनले बनाएको फिल्म 'पँखेटा' ले यस वर्षको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिचर क्याटोगोरीमा स्पेशल मेन्सन अवार्ड जितेको थियो।
मिनी सिरिजमा फिल्म एकेडेमीमा अभिनय सिकेर आएका कलाकारहरू सुन्दर धिताल, सुप्रज्ञा शर्मा, मञ्जिल श्रेष्ठ, नग्मा श्रेष्ठ, नारायण गैरे, प्रिया न्यौपाने, सनोल दास र बिना रोक्काको अभिनय छ।
मिनी सिरिजको कन्सेप्ट नेपालको लागी एकदमै नयाँ हो। अन्तर्राष्ट्रिय प्लाटफर्ममा छोटा-छोटा कथाहरूको श्रृंखलालाई मिनी सिरिजको रूपमा टेलिभिजन अथवा ओटीटीमा प्रदर्शन गर्ने चलन छ। नेपालमा भने मिनी सिरिज नै भनेर ओटीटीमा स्ट्रिमिङ गरिएको सम्भवत यो पहिलो हो।
अहिले निःशुल्क स्ट्रिमिङ भइरहेको यो सिरिज पछि हेर्नका लागि भने कान्तिपुर सिनेमाजको सदस्यता लिनुपर्ने हुन्छ।
कान्तिपुर फिल्म एकेडेमीले गत वर्षदेखि ओटीटी प्लाटफर्म सुरूआत गरेको हो। कान्तिपुर सिनेमाजमा फिचर फिल्म, सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज, मिनी सिरिज र सिरिज गरेर २५ वटा कन्टेन्टहरू रिलिज भइसकेका छन्।
संसारभर रहेका दर्शकले कान्तिपुर सिनेमाजको वेवसाइट लगइन गरेर वा मोबाइलमा एप डाउनलोड गरेर पनि यसका कन्टेन्ट हेर्न सकिनेछ। कान्तिपुर सिनेमाजको मासिक सदस्यता शुल्क २९९ रूपैयाँ राखिएको छ।