गायक एवं अभिनेता प्रकाश सपुतले फिल्म 'पूर्ण बहादुरको सारंगी' को छायांकन सकेका छन्।
उनले एउटा कलाकारका रूपमा धेरै राम्रो अनुभव र सिकाइ सहित यो फिल्मको छायांकन सकिएको बताएका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्मलाई ओखलढुंगा जिल्लाको रूम्जाटार र काठमाडौंमा गरी दुई चरणमा छायांकन गरिएको छ। सरोज पौडेलको लेखन एवं निर्देशन रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ।
फिल्ममा प्रकाशसहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, अलिशा बास्तोला, जान्भि पौडेल, स्वायम् केसी लगायतको अभिनय छ।
गन्धर्व परिवारको कथामा आधारित रहेर सोसल ड्रामा जनरामा बन्ने फिल्मलाई २०८२ सालभित्र प्रदर्शनमा ल्याइने जनाइएको छ।
प्रकाश सपुतले नारायण रायमाझी निर्देशित 'परदेशी २' बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका थिए।
गतवर्ष दसैंमा रिलिज भएको फिल्मले राम्रो व्यापार गरेको थियो।
यतिबेला उनी आफैले फिल्म ‘वसन्त’ निर्माण गर्दैछन्। यसमा उनको लेखन, निर्माण, निर्देशनसँगै अभिनय रहनेछ। उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नेछिन्।
यो फिल्म कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरूले बन्ने प्रकाशले बताएका छन्।