दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'के घर के डेराः घर नम्बर २' मा कलाकारको लाइनअप बलियो बनेको छ।
यो फिल्ममा शीर्ष भूमिकामा तीन जना अभिनेताहरू फाइनल भएका छन्।
यसअघि अभिनेता खगेन्द्र लामिछाने र निश्चल बस्नेतको अभिनय रहने तय भइसकेको थियो। फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि अभिनय रहने भएको छ।
निर्माणपक्ष र आर्यनबीच लिखित सम्झौता भइसकेको छ।
कलाकारहरूको भूमिका कस्तो रहने हो त्यो भने खुलाइएको छैन।
निर्माणपक्षका अनुसार अब फिल्मका लागि मुख्य दुई अभिनेत्री फाइनल गर्न बाँकी छ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।
यही साउन २५ गतेबाट फिल्मको छायांकन सुरू गर्ने तयारी छ। फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी रहनेछ।
युवराज कार्की फिल्मको कार्यकारी निर्माताका रूपमा छन्। सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन्।
काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्ने पक्का भइसकेको छ। फिल्मलाई यही वर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ।