नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म हो, ह्रस्व दीर्घ।
अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको यो फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ।
निर्मात्री एवं अभिनेत्री नीताका अनुसार 'ह्रस्व दीर्घ' पूर्ण कमर्सियल फिल्म हो। यसमा कमेडी, प्रेम, गीतसंगीत, एक्सन, इमोसन, ड्रामा सबै कुराको प्याकेज रहेको उनले बताइन्।
'फिल्म कुनै एउटा विषयलाई मात्र लिएर अगाडि बढेको छैन। जुनसुकै उमेरका दर्शकले पनि रिलेट गर्ने कथा छ,' उनले भनिन्, 'यो पूर्ण कमर्सियल फिल्म हो।'
हाल यो फिल्मको बाँकी एक गीतको छायांकन भइरहेको छ। काठमाडौंको बौद्ध हेरिटेजमा भव्य सेट लगाएर छायांकन भइरहेको गीतलाई भारतीय कोरियोग्राफरले कोरियोग्राफी गरिरहेकी छन्।
'गीत दुर्गेश थापाले तयार पार्नुभएको हो। उहाँको जुन प्याटन थियो, त्यो भन्दा यो गीत निकै फरक छ,' नीताले भनिन्, ‘भिडिओमा क्राउड र सेटअप हेभी छ। दर्शकले नेपाली फिल्ममा देखिरहेको भन्दा फरक स्वाद पाउनुहुनेछ।'
भिडिओमा नीताको नृत्य छ। साथमा हरिहर पनि देखिनेछन्।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नीता र हरिहरसँगै सञ्चीता लुईँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार लगायतको अभिनय छ।
फिल्ममा भारतीय कलाकारहरू ब्रह्मानन्दम, कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्माको अभिनय छ।
केही दिनमा फिल्मको गीत र त्यसपछि ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
हरिहर अधिकारीको कथा, प्रतिक पौडेलको लेखन रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
मित्र डि. गुरूङको सम्पादन रहने फिल्म नेपाली, तेलुगू र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।
फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्यांकटेस इन्टरटेन्मेन्टले वितरण गर्दैछ।