शुक्रबारदेखि नेपाली हलमा स्वदेशी र विदेशी गरेर चारवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
नेपालीतर्फ फिल्म 'मोदीबेनी' र 'शिरफूल' आज रिलिज भएका हुन्।
बलिउडको 'औरों में कहाँ दम था' र हलिउडको 'डेडपूल एण्ड वुल्भरिन' पनि नेपाली हलमा रिलिज भएका छन्।
नेपाली फिल्म 'मोदीबेनी' लाई शंकर कोइरालाले निर्देशन गरेका हुन्। सत्य तर अविस्वसनीय घटनामा आधारित भनिएको फिल्मलाई लभस्टोरी र सस्पेन्स थ्रिलर जनरामा राखिएको छ।
यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रविण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिपिल केसी, स्नेहा भट्टराईलगायत कलाकारको अभिनय छ। आनन्द विक्रम क्षेत्रीको कथा रहेको फिल्मको निर्माता दिलिप केसी हुन्। गत मंगलबार गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मले दर्शकको साथ पाउने अपेक्षा निर्माण टिमको छ।
त्यस्तै, कमल एक्चै मगरको निर्देशन रहेको 'शिरफूल' सामाजिक कथामा बनेको फिल्म हो। केही वर्षअघि निर्माण भएता पनि अहिले आएर यो फिल्मलाई प्रदर्शनमा ल्याइएको हो।
यसमा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।
बढ्दो आधुनिकताको प्रभावले युवा पुस्तामा देखिने सांस्कृतिक विकृतिलाई फिल्मले चित्रण गरेको जनाइएको छ।
देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा आशिर्वाद पुन मगर निर्माता र माया छन्त्याल पुन सह–निर्माता हुन्। यो फिल्मलाई क्युएफएक्समा भने शो दिइएको छैन।
बलिउड फिल्म 'औरों में कहाँ दम था' मा अजय देवगन, तब्बु, जिम्मी शेरगिल, शान्तनु महेश्वरी, साई मांजरेकरको अभिनय छ। यो एक्सन, ड्रामा र रोमान्स जनराको फिल्म हो।
हलिउडको 'डेडपूल एण्ड वुल्भरिन' एक्सन र कमेडी जनराको सुपरहिरो फिल्म हो।
शान लेभी निर्देशित यो फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्रको कथामा आधारित छ।
फिल्ममा रायन रेनोल्ड्स, हयुज ज्याकम्यान, मोरिना बाकारिन, म्याथ्यू म्याकफ्याडियन, शिओरी कुत्सुनाको अभिनय छ।