साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'बुलाकी' ले नयाँ प्रचारात्मक सामाग्री सार्वजनिक गरेको छ।
फिल्मको टिमले नारी वेदना समेटिएको 'सधैं पछि परन्या हुन् स्त्री' बोलको गीत ल्याएको हो।
गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको स्वर छ।
यसको शब्द–संगीत बाबुल गिरीको हो। एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन्।
फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको भिडिओमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ।
यतिबेला रि–रिलिज हुन लागेको 'बुलाकी' लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
यसअघि गतवर्ष प्रदर्शनमा आएको यो फिल्मले यसबीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा फिल्म महोत्सवहरूमा अवार्ड पाएको छ।
स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’ लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्।
फिल्मले कर्णाली भेगको जारी प्रथाको कथा प्रस्तुत गर्छ।