अभिनेत्री नम्रता सापकोटा 'डेसान' प्रदर्शनको एक वर्षपछि 'नम्बरी सुन' मार्फत दर्शकमाझ आउँदैछिन्।
राजु गिरीको निर्देशन रहेको यो फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ।
नम्रता यसमा दर्शकले आफूलाई भिन्न भूमिकामा देख्न पाउने बताउँछिन्। फिल्ममा उनले गाउँको मुखियाकी छोरीको भूमिका निभाएकी छन्।
'ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे। उसमा घमण्ड छैन। उसको प्रेम आफूभन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ,' नम्रता आफ्नो चरित्रबारे भन्छिन्, 'आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे। आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु।'
उनले फिल्ममा आफ्नो चरित्रले धेरै बोल्नु नपरेको बताइन्। उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि 'नम्बरी सुन' हेर्नुपर्ने धारणा राख्छिन्।
'दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेर्न चाहनुहुन्छ भने नम्बरी सुन एउटा राम्रो फिल्म बनेको छ,' नम्रता भन्छिन्, 'यसमा बिशुद्ध नेपाली अर्ग्यानिक कथा छ।'
फिल्ममा ६०–७० वर्ष अघिको कथालाई देखाउन खोजिएको बताइएको छ। यातायात नपुगेको स्थानमा यसको छायांकन गरिएको नम्रताले बताइन्।
'त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन पनि यो फिल्म हेर्नुपर्छ,' उनले भनिन्।
कथा मन परेरै आफूले फिल्ममा काम गरेको बताउने नम्रताले गौरव पहारी, विनोद न्यौपाने लगायतबाट धेरै कुरा सिकेको बताइन्। फिल्मलाई लिएर आशावादी रहेको समेत बताइन्।
'नम्बरी सुन' लाई देशका विभिन्न जिल्लामा च्यारिटी एवं विशेष शोपश्चात देशव्यापी प्रदर्शनमा ल्याउन लागिएको हो।
फिल्ममा नम्रता, गौरव र विनोदका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।
फिल्ममा शिवम अधिकारीको कथा एवं पटकथा छ। निर्मातामा सरोज खाती, सविन खाती, मनोज रिजाल छन्।