'मिस नेपाल नर्थ अमेरिका २०२४' को उपाधि अन्ना कोइरालाले जितेकी छन्। शनिबार न्युयोर्क सहरमा भएको फिनालेमा नर्थ क्यारोलिनाबाट सहभागी कोइरालाले ताज पहिरिएकी हुन्।
मेरिल्याण्डबाट सहभागी रुबी पौडेल फर्स्ट रनरअप बनिन् भने टेक्सासबाट सहभागी आदिश्री रेग्मी सकेण्ड रनरअप घोषित भइन्।
यसमा अमेरिका र क्यानडाको नेपाली समुदायमा बसोबास गर्दै आएका युवतीहरूले सहभागीता जनाउँदै आएका छन्। यसपटक यो प्रतियोगीताको फिनालेमा शीर्ष २० प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगीताका लागि नेपालबाट थुप्रै कलाकारहरू न्युयोर्क पुगेका थिए।
आयोजक ड्रिम्स युनिभर्सलका संस्थापक शैलेन्द्र श्रेष्ठले भव्य रूपमा कार्यक्रम भएको बताए।