नेपाली फिल्म 'मोदीबेनी' बक्स अफिसमा कमजोर देखिएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरूआती दिनमा राम्रो व्यापार गर्न नसकेको हो।
फिल्मका निर्माता एवं कलाकार दिलिप केसीले हलमा दर्शकको उपस्थिति सोचेजस्तो नभएको बताए।
'राम्रो कन्टेन्ट दिउँ भनेर सक्दो मेहनत गरेका थियौं। फिल्म हेर्न जति आउनुभएको छ, सबैबाट राम्रो प्रतिक्रिया पाएका छौं,' केसीले भने, 'तर दर्शकको उपस्थिति सोचेजस्तो छैन।'
उनले शुक्रबार केही हलमा हाउसफुल दर्शक रहे पनि शनिबार भने त्यति दर्शक नदेखिएको बताए।
'शुक्रबार केही हलमा जाँदा हाउसफुल थियो। शनिबार दर्शकको संख्या अझ बढ्ने अपेक्षा थियो। तर त्यस्तो देखिएन,' उनले भने।
फिल्मको ग्रस कलेक्सन भने नआएको केसीले बताए। यद्यपि दुई दिनमा १० लाख हाराहारी मात्रै ग्रस कलेक्सन गरेको हुनसक्ने अनुमान गरे।
शंकर कोइरालाको निर्देशनमा बनेको यो फिल्मको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन्।
फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रविण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलिप केसी, स्नेहा भट्टराईलगायत कलाकारको अभिनय छ।
फिल्मको सह-निर्मातामा हरि श्रेष्ठ छन्।
सत्य तर अविस्वसनीय घटनामा आधारित भनिएको फिल्मलाई लभस्टोरी र सस्पेन्स थ्रिलर जनरामा राखिएको छ।