सत्य घटनामा आधारित फिल्म 'नमेटिने घाउ' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका निर्माता एवं निर्देशक रमित ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेका हुन्।
पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरी र फिल्मका कलाकारहरू देखिएका छन्।
पोस्टर सार्वजनिक गर्दै रमित ढुंगानाले यो एउटा फिल्म मात्र नभएर अभियान पनि भएको उल्लेख गरेका छन्।
उनले भनेका छन् –'नमेटिने घाउ हाम्रो देश नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको चलचित्र हो। यो चलचित्रमा एसिड आक्रमणमा परेका ब्यक्तिहरूको वास्तविक जीवनकथा देखाउन खोजेका छौं। यो चलचित्र निर्माण गर्नुको एउटै उद्देश्य हो। एसिड आक्रमणमा परेका ब्यक्तिले समाजमा भोग्नुपरेको दर्दनाक दुःख, पीडा र अपहेलित हुनुपरेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा हाम्रो दिदी बहिनी, दाजु भाइहरूमाथि यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधिले कडाभन्दा कडा सजाय पाओस्, बलियो कानून बनोस् भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो।'
फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अभिनय गरेका छन्। नेपाल प्रहरीका उच्च पदाधिकारीसहित थुप्रै प्रहरीले यसमा अभिनय गरेका छन्।
फिल्ममा एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय छ।
यसमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित, सुनिल कटुवाल, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेका छन्।
फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।
निरज कंडेलको छायांकन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको सम्पादन छ।
फिल्म भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।